२०८३ जेष्ठ २२, शुक्रबार ०७:४८

नेपाली कांग्रेस संस्थापन पक्षले संस्थापन इतर पक्षका नेताहरुमाथि अनुशासनको कारबाही गरिएको छ । सभापति गगनकुमार थापाले मधेश प्रदेशका असन्तुष्ट पक्षलाई कारबाही थालेका छन् । जेठ २८ गतेको मधेश प्रदेश भेलाको लागि बिहीबार तयारी बैठक भइरहेको बेला अनुशासन समितिले कारबाहीको डण्डा घुमाएको छ ।

केन्द्रीय अनुशासन समितिले बारा जिल्लाका पार्टी सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ । उनले पार्टीको आधिकारिक उम्मेदवारको विरुद्ध चुनावमा लागेर अन्तरघात गरेको ठहरगर्दै अनुशासन समितिले पदबाट निलम्बन गर्ने निर्णय गरेको छ । सभापति यादव संस्थापन इतर पक्षतर्फ खुलेका छन् । उनी निवर्तमान सभापति शेरबहादुर देउवा निकट मानिन्छ । सभापति यादवले थापाको नेतृत्वलाई स्वीकार नगरेको बताइन्छ । यसैगरी अनुशासन समितिले मधेश प्रदेशका ३ जना प्रदेश सांसदलाई सचेत गराएको छ । उनीहरुले हालै सम्पन्न प्रतिनिधि सभाको चुनावमा सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन कुमार थापाविरुद्ध लागेको भन्दै आरोप लागेको थियो ।

अनुशासन समितिको बिहीबार बसेको बैठकले सर्लाही जिल्ला क्षेत्र नम्बर २ का तीन जना प्रदेश सभा सदस्यहरूलाई सजगताका साथ पार्टीको जिम्मेवारी पूरा गर्न निर्देशन दिएको हो । प्रदेश सभा सदस्यहरु सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध काम गरेको आरोप लागेको थियो । उनीहरुलाई समितिले सचेत गराएको छ । आरोपित प्रदेश सांसदहरुले आफूमाथिको आरोप निराधार रहेको भन्दै स्पष्टीकरण बुझाएका थिए । उनीहरुले बुझाएको स्पष्टीकरणलाई समितिले चित्त बुझ्दो ठहर गरेको छ । तर उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो भए पनि समितिले आगामी दिनमा कुनै गुनासो नआउने गरी पार्टीको विधान र नियमावलीप्रति प्रतिबद्ध रही पदीय जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ ।

सचेत गराइएकाहरु मध्येको जंगीलाल यादवलाई जेठको दोस्रो हप्ता प्रदेश मन्त्रीबाट बर्खास्त गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका यादवलाई हटाएर कांग्रेस रौतहटका नागेन्द्र साहलाइ नियुक्त गरिएको हो । मन्त्रिमण्डल पुनर्गठन हुने साँझ सभापति थापाले तत्काल हटाउन मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई निर्देशन दिएको उच्चस्रोतले जनाएको छ । स्रोतका अनुसार यादवले थापा विरुद्ध सर्लाहीमा अन्तरघात गरेको आरोप लागेको थियो । सर्लाही जिल्लामा थापाको पक्षबाट वीरेन्द्र प्रसाद सिंहलगायतका नेताहरुले नेतृत्व गरिरहेका छन् । उनीहरुकै सुझावमा जंगीलाललाई बर्खास्त गराएर साहलाई मन्त्री बनाइएको थियो । थापा समूहले बोलाएको विशेष महाधिवेशनमा साहको सक्रिय सहभागिता रहेको थियो ।

जंगीलाल सहित सचेत गराइएका तीनै जना सांसद विशेष महाधिवेशनमा सहभागी भएका थिएनन् । सांसद पद समेत खुस्काइदिन संस्थापन पक्ष लागेको सुईको पाएका उनीहरुले स्पष्टीकरणको जवाफ दिएर पद जोगाएको स्रोतले जनाएका छन् । बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउतले अनुशासन उल्लंघनको आरोपबाट सफाइ पाएका छन् । उनले बुझाएको स्पष्टीकरण सन्तोषजनक रहेको र मिसिल संलग्न कागजात अध्ययन गर्दा थप कारबाही गर्नुपर्ने अवस्था नदेखिएको भन्दै समितिले उनलाई सफाइ दिने निर्णय गरेको हो । उनीमाथि समेत अन्तरघातको गंभीर आरोप लागेको थियो ।तर उनलाई सफाइ दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले पार्टीको आधिकारिक उम्मेदवारलाई अन्तरघात गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेकोले उपसभापति राउतलाई सफाई दिएको बताइन्छ । सभापति राय थापाको विरोधी समूहमा रहेकाले निलम्बन गरिएको बताइएको छ । अन्तरघातकै आरोप लागेको सर्लाही जिल्लाका तीन जना प्रदेश सांसद र बारा जिल्लाका उपसभापतिलाई थप कारबाही नगरिए पनि सभापति रायलाई निलम्बन गरिएको छ । बारा जिल्लामा सभापति रायको बलियो जनाधार रहेको छ । उनलाई निलम्बन गरेसंगै कांग्रेस संस्थापनलाई ठूलो धक्का लाग्ने बताइएको छ ।

अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको समितिको बैठकले यादवलाई निलम्बन गर्ने निर्णय गरेको हो । चुनावबाट सभापतिमा यादव निर्वाचित भएका थिए । सभापतिबाट यादव निलम्बन गरिएपनि कार्यवाहक सभापति तोकिएको छैन । यस अघि सभापति थापाले केही निर्वाचित वडा अध्यक्षलाई कारबाहीको सिफारिस गरी निर्वाचित पदबाट समेत मुक्त गराएको थियो । कांग्रेस पार्टीमा हाल क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य भइरहेको छ । तर त्यसमा असन्तुष्ट पक्ष सहभागी भएको छैन ।

Comment


Related News