२०८३ जेष्ठ २२, शुक्रबार ०८:०५

जीवनभरको पसिनाले जोडेको सम्पत्ति आफ्नै सन्तानको नाममा नामसारी गरेपछि बुढेसकालमा सहाराविहीन बनेका एक वृद्ध दम्पतीले न्यायको खोजीमा गाउँदेखि सदरमुकामसम्म धाइरहेका छन् ।

रौतहटको राजपुर नगरपालिका–८ हजमिनियामा देखिएको यो घटना पारिवारिक सम्बन्ध र वृद्ध अभिभावकको अवस्थाबारे गम्भीर प्रश्न उठाउने बनेको छ । हजमिनिया गाउँका हफि महम्मद अन्सारी र उनकी पत्नी रोजैदा खातुनले आफ्नो एक छोरा र दुई छोरीमध्ये छोरा शाह महम्मद अन्सारीलाई विश्वासका आधारमा घरसहित करिब ९ धुर जग्गा दुई चरणमा नामसारी गरिदिएका थिए । तर सम्पत्ति आफ्नो नाममा भएपछि छोरा परिवारबाट टाढिँदै गएको, हाल ससुराली पक्षको बसोबास रहेको गढीमाई नगरपालिका– गम्हरियामा बस्दै आएको तथा वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेको उनीहरूको भनाइ छ ।

वृद्ध दम्पतीका अनुसार बुहारी र नातिनातिना पनि माइतीमै बस्दै आएका छन् । अहिले आफूहरू बस्दै आएको घरसहित बाँकी रहेको जग्गा समेत बिक्री गर्ने तयारी भइरहेको जानकारी पाएपछि उनीहरू थप त्रसित बनेका छन् । शारीरिक रूपमा कमजोर भइसकेका हफि महम्मद अन्सारीले युवावस्थामा गरेको मेहनत सम्झिँदै अहिले जीवन अत्यन्तै कठिन बनेको बताए । ‘पहिले शरीरले साथ दिन्थ्यो, काम गरेर घर चलाउँथें। अहिले केही गर्न सक्दिनँ, खान– लाउनकै समस्या छ,’ उनले भने ।

उनीहरूको जेठी छोरी भारतको बैरगनिया–स्थित सिन्दुरियामा बस्दै आएकी छन् । छोरीले कहिलेकाहीँ पठाउने सहयोगकै भरमा वृद्ध दम्पती र २० वर्षीया कान्छी छोरीको गुजारा चलिरहेको छ । आर्थिक अभावका कारण कान्छी छोरीको विवाहसमेत गर्न नसकेको उनीहरूको पीडा झन् गहिरिएको छ । न्यायको आशामा पत्रकारमार्फत आवाज उठाउन गौर पुगेका अन्सारी दम्पतीले सम्बन्धित निकायसम्म आफ्नो समस्या पु¥याइदिन आग्रह गरेका छन् । ‘हाम्रो आवाज माथिसम्म पुगोस्, न्याय मिलोस् । ‘

Comment


Related News