२०८३ जेष्ठ २२, शुक्रबार ०८:१५

मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको एक तथ्यांकले जनाएको छ । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्यांकन गरिएको थियो ।

जसमध्ये ३५ हजार ८८३ जना कुपोषित, आठ हजार ७७१ जना शीघ्र कुपोषित र दुई लाख ३३ हजार १८२ जना सामान्य अवस्थामा रहेका तथ्यांकमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार यो अवस्था संकटपूर्ण मानिन्छ । मधेस प्रदेशमा कुपोषित तथा शीघ्र कुपोषित बालबालिकाको संख्या ४४ हजार ६५४ पुगेको छ, जुन कूल परीक्षण गरिएका बालबालिकाको १५।७६ प्रतिशत हुन आउछ ।

मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिएका छ्न । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव तथा असन्तुलित खानपान जस्ता कारणले मधेसमा कुपोषणका समस्या जटिल बन्दै गएको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेस प्रदेशका प्रदेश सचिव डा प्रमोद यादवले कृषि उत्पादनमा सम्पन्न मानिने प्रदेशमा बाल कुपोषण उच्च हुनु चिन्ताको विषय भएको जानकारी दिए । करिब २९ प्रतिशत बालबालिका मधेस प्रदेशमा जन्मिने र नेपालको कूल जनसंख्याको झण्डै २२ प्रतिशत हिस्सा मधेस प्रदेशमा बसोबास गर्दै आएका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रदेशस्तरीय नतिजा अनुसार मधेस प्रदेशमा बालमृत्यु, कुपोषण, किशोरी प्रजनन् दर र विद्यालय बाहिर रहेका बालबालिकाको अवस्था राष्ट्रिय औसतभन्दा चिन्ताजनक रहेको छ । प्रतिवेदनअनुसार मधेस प्रदेशमा नवजात शिशु मृत्युदरप्रति एक हजार जन्ममा २० र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३३ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा माथि हो । त्यस्तै, कुपोषणको अवस्था पनि गम्भीर देखिएको छ उमेरअनुसार तौल कम भएका (लिखुरे) बालबालिका २३.२ प्रतिशत र उचाइ कम भएका -पुड्को) ३१.१ प्रतिशत रहेका छन् ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरमा रहेको पोषण गृहको पछिल्लो दुई वर्षको तथ्यांक हेर्ने हो भने बर्सेनि १५० देखि २५० जना बालबालिका कुपोषणका कारण भर्ना हुने गर्छन् । तीमध्ये अधिकांशमा क्षयरोगको समस्या देखिने गरेको छ । पोषण गृहकी कार्यक्रम व्यवस्थापक किरण यादवका अनुसार आर्थिक वर्ष २०७९–८० मा १८६ जना बालबालिका कुपोषणका कारण भर्ना भएका थिए भने आर्थिक वर्ष २०८०–८१ मा २१६ जना बालबालिका भर्ना भएका थिए ।

त्यस्तै अस्पतालको बालरोग विभागमा दैनिक १५० देखि २०० जना बिरामी आउँछन् । तीमध्ये प्रत्येक १० मध्ये चारजनामा कुनै न कुनै प्रकारको कुपोषण सम्बन्धी समस्या देखिने गरेको चिकित्सकहरुको भनाई छ ।

यसअघि सन् २०१६ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले पाँचवर्षमूनिका ३७ प्रतिशत बालबालिकामा पुड्कोपन दखिएको थियो भने ५९ प्रतिशतमा रक्तअल्पत्ता देखिएको थियो। यस्तै १० प्रतिशत बालबालिकामा ख्याउटेपन र २७ प्रतिशत कम तौलका बालबालिका पाइएका थिए । मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयका अनुसार मधेस प्रदेशमा बर्सेनि १ लाख ४० हजार बच्चा जन्मिन्छन् ।

जसमा ५ वर्ष मुनिका मृत्युदर प्रति एक हजार जीवित बच्चामा ३३ र नवजात शिशु मृत्युदर प्रति एकहजार जीवित जन्ममा २१ रहेको छ । जसको प्रमुख कारण कुपोषण सम्बन्धी समस्या रहेको बुझाइ छ ।

Comment


Related News