जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा आगामी तीन दिनसम्म ‘लु’ चल्ने सम्भावना औँल्याएको छ ।
विभागका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहरको सम्भावना रहेको छ । यसैगरी, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिनको सम्भावना रहेको छ ।
विभागले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘ती प्रदेशका तराई भू-भागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने सम्भावना छ ।’ अत्यधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणका अनुसार, तराईका विभिन्न जिल्लाहरूमा उच्च जोखिम रहेको छ । जसमध्ये, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कैलाली र कञ्चनपुरलाई बढी संवेदनशील सूचीमा राखिएको छ ।

