२०८३ जेष्ठ २३, शनिबार ०७:३८

प्रधानमन्त्री बालेन्द्र साहलाई म्यासेज लेखेका कारण उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले सात घण्टासम्म केरकार गरेको छ । त्यसपछि सचिव पुष्करलाई उपपराष्ट्रपति कार्यालयबाट शुक्रबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सरुवा गरि जगेडामा राखिएको छ ।

प्रहरीको केरकारबाट रिहा भएको एक दिनपछि प्रधानमन्त्री कार्यालयले सचिव पुष्करलाई शुक्रबार जगेडामा राख्ने निर्णय गरेको थियो । प्रधानमन्त्री साहलाई सचिव पुष्करले मुख्यसचिवदेखि राजदूत बन्नका विचारविमर्शसहितको म्यासेज गरेको खुलेको छ । प्रधानमन्त्रीलाई म्यासेज गरेको पाइएपछि बिहीबार मात्रै सचिव पुस्करलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर केरकार गरेको थियो ।

सात घण्टासम्म केरकार गरेपछि पुष्करलाई प्रहरीले उनकी श्रीमतीको जिम्मा लगाएर छाडेको थियो । प्रहरी केरकारमा परेका पुष्करले प्रधानमन्त्री साहलाई म्यासेजमा सचिव पुष्करले अझै मुख्य सचिव र राजदूत हुनका लागि विचारविमर्शसहितको आशय व्यक्त गरेको देखिएको छ । प्रधानमन्त्री साह र सचिव पुष्कर महोत्तरी जिल्लाकै हुन् ।

एकै जिल्लाका रहेका नाता र विगतमा जनप्रतिनिधि हुँदा समेत संगै काम गरेकाले समेत उनीसंग व्यक्ति रुपमा पनि सम्बन्ध रहेकाले सचिव पुष्करले उनलाई विचारविमर्शसहितको आशययूक्त म्यासेज गरेको पाइएको बताइन्छ । सो म्यासेजमा पुष्करले प्रधानमन्त्री साहलाई हजुरको विशेष ध्यान भएमात्रै मुख्यसचिवमा सम्भावना रहेको नत्र कुनै सम्भावना नरहेको उल्लेख गरेका छन् ।

यसबाट पुष्करले अझै मुख्यसचिवका हुनका लागि अपेक्षा गर्दै सहयोग हुनसके अझै सम्भावना रहेको व्यक्त गरेको देखिन्छ । मुख्य सचिव नभएको अवस्थामा सचिवको पाँच वर्षे कार्यकाल पूरा गरेर यही असार २४ मा अवकाशमा जाने निश्चित भएकाले राजदूतका लागि पुष्करले फारम भरेको पनि पाइएको छ । उक्त कुरा उनले म्यासेजमै उल्लेख गरेको पाइएको छ ।

उनले प्रधानमन्त्री साहलाई म्यासेजमा लेखेका छन्, ‘राजदूतका लागि विज्ञापन हेरेँ र मैले पनि आवेदन पेश गरेँ, हजुर । यस समन्बन्धमा हजुरको जानकारी मार्गंदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु ।’ यसै म्यासेजलाई लिएर प्रहरीले पुष्करलाई नियन्त्रणमा लिएर केरकार गरेको थियो ।

यता सरकारी संयन्त्रले भने पुष्करलाई पक्राउ गरेर थुन्ने कुनै योजना नरहेको जनाएको छ । अझै मुख्यसचिव बन्न खोज्ने, बहालमै रहेका सचिवले राजदूतका लागि फारम भर्ने र सहयोग भन्दै प्रधानमन्त्रीलाई म्यासेज गरेपछि एउटा सन्देश दिन प्रहरीले सोधपुछ गरेको सरकारी स्रोतले जनाएको छ । ‘यति म्यासेजकै आधारमा पक्राउ गर्ने थुन्ने भन्दा पनि एउटा सन्देश दिन खोजिएको छ । ताकि आउने दिनमा यस्ता घटना नदोहोरिउन् भन्ने हो । अझै पनि भनसुनको भरमा मुख्यसचिव ताक्ने, राजदूतका लागि सहयोग माग्ने प्रवृत्ति देखिएकाले सबैलाई सन्देशका लागि प्रहरीले सोधपुछ मात्रै गरी छाडिएको छ,’ स्रोतले भन्यो ।

सचिव पुष्कर असार २४ मा पाँच वर्षे अवधि पूरा हुँदैछ भने मुख्यसचिव सुमनराज अर्याल ५८ वर्षे उमेरहदले त्यसको अर्को दिन अर्थात असार २५ मा अवकाश हुँदैछन् । राजदूत नियुक्तिका लागि आवेदन दिएका विषयमा प्रधानमन्त्रीसंग जानकारी र मार्गदर्शन माग्दै सन्देश पठाएका पुष्कर हाल जगेडामा राखिएका छन् । सचिव पदमा कायम रहे पनि उनी अहिले कार्य जिम्मेवारीविहीन बनेका छन् ।

Comment


Related News