२०८३ जेष्ठ २४, आईतवार ०७:३८

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक अधिवेशनमार्फत नेतृत्व चयन गर्न लागेका बेला मधेश प्रदेशमा आन्तरिक विवादले जिल्ला अधिवेशनहरु प्रभावित भएको छ ।

बारा जिल्ला अधिवेशनमा विवाद भएपछि नेतृत्व चयन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ । रौतहट र पर्सा जिल्लामा शनिबार जिल्ला अधिवेशनको प्रक्रिया प्रारम्भ भए पनि विवादको कारण रोकिएको छ । धनुषा जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । सिराहा जिल्लामा आइतबार जिल्ला अधिवेशनको समय निर्धारण गरिएको छ ।

सप्तरी जिल्लाको अधिवेशन २५ गते हुने बताइएको छ । तर श्रम मन्त्री रामजी यादव समूह र फरक समूहबीच विवाद चलिरहेको छ । प्रतिनिधि छनोटमा समेत विवाद देखिएपछि जिल्ला अधिवेशन निर्धारित समयमै हुनेमा आशंका व्यक्त गरिएको छ । रास्वपाको प्रथम रौतहट जिल्ला अधिवेशन शनिबार गरुडामा शुरु भए पनि विवादको कारण नेतृत्व चयन प्रक्रिया रोकिएको छ । जिल्ला नेतृत्व सर्वसम्मतबाट चयन गर्न आइतबार बिहानसम्मको समयसीमा तोकिएको छ । बिहान ८ बजे सम्म नेतृत्वको टुंगो लाग्न नसके निर्वाचन प्रक्रियामा जाने जिल्ला सभापति प्रदीप साहले जनाएका छन् ।

जिल्ला सभापति पदका लागि क्षेत्र नम्बर १ का सांसद राजेश चौधरी, वर्तमान सभापति प्रदीप साह र युवा नेता रविन्द्र यादव आकांक्षी देखिएका छन् । यद्यपि पार्टीभित्र वर्तमान सभापति साहलाई पुनः सर्वसम्मत नेतृत्व प्रदान गर्ने विषयमा समेत आन्तरिक छलफल चलिरहेको छ । अधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्र संस्थापक समूह र पछिल्लो समय अन्य दलबाट प्रवेश गरेका नेताहरूबीच मतभेद रहेको देखिएको छ । संस्थापक पक्षले पार्टी निर्माण र संगठन विस्तारमा आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबी गर्दै आएको छ ।

पछिल्लो समय पार्टी प्रवेश गरेका नेताहरूले आफूहरूमाथि विभेदपूर्ण व्यवहार भएको गुनासो गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीका सांसदहरुलाई जिल्ला नेतृत्वमा प्रतिष्पर्धा नगर्न भनेको छ । तर हरेक जिल्लामा सांसदहरु नै विवादको कारण देखिएको आरोप लागेको छ । मधेश प्रदेशको सबै जिल्लामा नेतृत्व आफ्नो पक्षमा पार्न सांसदहरु लागिपरेका छन् । सांसदहरुले जिल्लामा प्रभुत्व कायम गर्न नेतृत्वप्रति बढी आकर्षित देखिएको बताइन्छ । मधेश प्रदेशको जिल्लाहरुमा अधिवेशन समयमा हुने संभावना कमजोर देखिएको छ ।

जिल्लामा विवाद हुँदा मधेश प्रदेशको अधिवेशन समेत सर्ने बताइन्छ । अधिकांश जिल्लाहरुमा संस्थापन र नवप्रवेशीहरुबीच बिबाद देखिएको छ ।संस्थापन पक्षले नवप्रवेशीलाई मुल प्रवाहमा आउन नदिने आरोप लागेको छ । देशको सबै भन्दा ठूलो दुई तिहाइ नजिकको बहुमत प्राप्त रास्वपाको राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनअघि वडा, पालिका, जिल्ला तथा प्रदेश तहका अधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिले निर्देशन दिएको हो ।

राजनीतिक विश्लेषकहरूका अनुसार रौतहट अधिवेशनको परिणामले जिल्लामा रास्वपाको आगामी संगठनात्मक दिशा तथा शक्ति सन्तुलन निर्धारण गर्ने भएकाले नेतृत्व चयन प्रक्रियालाई विशेष महत्वका साथ हेरिएको छ । देशभरिको ७७ जिल्ला मध्ये ६७ जिल्लामा अधिवेशन शुरु भएको छ । तर कतिपय जिल्लाहरुमा विवादको कारण अधिवेशन स्थगन भएको छ ।

१० वटा जिल्लामा भने महाधिवेशनपछि जिल्ला अधिवेशन गरिने सूचना जारी भइसकेको छ । वडा र पालिका तहका निर्वाचनहरू सम्पन्न भएसंगै शनिबार र आइतबार देशव्यापी रूपमा जिल्ला अधिवेशन तथा निर्वाचन हुन लागेको रास्वपाले जनाएको छ । पार्टीले तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने अभियान अन्तर्गत केन्द्रीय निर्वाचन आयोगले प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरी निर्वाचन प्रक्रिया अघि बढाएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जिल्ला अधिवेशनहरू पार्टीको सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण खुड्किलो भएको बताएका छन् । उनले भने, ‘हिजोको तदर्थ जिम्मेवारीलाई नै स्थायी मानेर नेतृत्व दाबी गर्ने प्रवृत्तिको अन्त्य स्वच्छ निर्वाचन प्रक्रियाबाटै हुनेछ ।’ निर्वाचनलाई निष्पक्ष बनाउन प्रत्येक जिल्लामा ३ सदस्यीय र प्रदेशमा ५ सदस्यीय निर्वाचन समिति परिचालन गरिएको उनले जानकारी दिए । केन्द्रीय निर्वाचन आयोगको पोर्टलका अनुसार ४ हजार २ सय ४६ वडा समितिहरू गठन भइसकेको छ ।

त्यसैगरि ५ सय १२ पालिकामा समितिहरू गठन भइसकेको छ । जिल्ला अधिवेशनको लागि शनिबार सातवटै प्रदेशका ३८ जिल्लामा र आइतबार विभिन्न प्रदेशका थप २७ जिल्लाहरूमा निर्वाचन हुने बताइएको छ । विशेष सांगठनिक परिस्थितिका कारण थप १ जिल्लाको निर्वाचन जेठ २६ गते हुनेछ । सोही दिन बागमती प्रदेशबाट प्रादेशिक अधिवेशनको समेत सुरुवात गरिने पार्टीले जनाएको छ ।

कार्यतालिकामा समावेश नभएका देशका बाँकी १० जिल्लाहरूको अधिवेशन भने राष्ट्रिय महाधिवेशन सम्पन्न भएपश्चात् क्रमशः गरिने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

Comment


Related News

Latest News

Trending News