२०८३ जेष्ठ २४, आईतवार ०८:४८

रौतहटमा वन संरक्षणका लागि खटिएको गस्ती टोलीमाथि आक्रमण गर्ने एकजना आरोपीलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।

गुजरा नगरपालिका–२ मैढा गाउँ निवासी रामध्यान साहका २६ वर्षीय छोरा राजकिशोर साहलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी वीरगञ्ज बिर्ताको संयुक्त टोलीले शनिबार साँझ वीरगञ्जबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका साहलाई हाल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमले जानकारी दिएका छन्।

सहायक वन अधिकृत राजकुमार चौधरीको जाहेरीका आधारमा प्रतिवादी साहसहितका व्यक्तिहरूविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भई जिल्ला अदालत रौतहटबाट पक्राउ आदेश जारी गरिएको थियो।

गत १९ गते राति करिब साढे १२ बजे काठ चोरी भइरहेको सूचनाका आधारमा जंगल क्षेत्रमा पुगेको डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त गस्ती टोलीमाथि आरोपी राजकिशोर सहितको समूहले आक्रमण गरेको थियो।

आक्रमणमा सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र बिमल थापा तथा चालक अरविन्द पटेल घाइते भएका थिए।

वन क्षेत्रमा सक्रिय काठ तस्करी नियन्त्रणमा खटिएको टोलीमाथि भएको आक्रमणपछि रौतहटको वन क्षेत्रमा सुरक्षा चुनौती र तस्करी सञ्जालबारे पुनः प्रश्न उठेको थियो।

Comment


Related News

Latest News

Trending News