२०८३ जेष्ठ २५, सोमबार ०७:५३

महोत्तरीको गौशाला नगरपालिका–१२ का वडाध्यक्ष सहित पांच जनाविरुद्ध पररियास्थित निर्माणाधीन इनारमा काम गर्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु भएको घटनामा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दर्ता गरिएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ निवासी चन्द्रप्रकाश महतोले आफ्ना २१ वर्षीय छोरा बसन्त कुमार कुशवाहाको मृत्यु लापरवाहीका कारण भएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएका हुन् । जाहेरी अनुसार निर्माणाधीन इनारभित्र रुखको जरा काट्ने क्रममा प्रयोग गरिएको मेसिनबाट निस्किएको धुवाँका कारण बसन्त कुमार कुशवाहा निसास्सिएर बेहोस भएका थिए ।

गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पीडित परिवारले गौशाला नगरपालिका–१२ का वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहासहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएको छ । परिवारले इनारभित्रको जोखिमबारे जानकारी हुँदाहुँदै पर्याप्त सुरक्षा सतर्कता नअपनाई काममा लगाइएको तथा गम्भीर लापरवाहीका कारण युवकको ज्यान गएको आरोप लगाएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाले जाहेरी दर्तापछि घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ । प्रहरीका अनुसार पोस्टमार्टम प्रतिवेदन, घटनास्थल मुचुल्का, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । पीडित परिवारले घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न र उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

Comment


Related News

Latest News

Trending News