२०८३ जेष्ठ २५, सोमबार ०७:५८

नेपाली कांग्रेसका नेता एवम नेपाल भारत युवा संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले रक्सीमाथि प्रतिबन्ध लगाउने कानुन ल्याउन सरकारसँग माग गरेका छन् ।

आईतबार नेपाल भारत युवा संघ, धनुषाद्वारा जनकपुरधाममा आयोजित लागू औषध विरुद्ध जनचेतना अभियान कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष यादवले भारतको विहार सरकारले लागु गरेको कानुन नेपाल सरकारले पनि लागु गर्न आवश्यक रहेको बताए । उनले मधेश प्रदेशमा विशेष गरी सीमा क्षेत्रमा व्यापक लागू औषध सेवन गर्ने युवाहरुको संख्या बढ्दै गएकोले प्रदेश सरकारले यसलाई पूर्णतः नियन्त्रण गर्न कानुन निर्माण गर्नु पर्नेमा जोड दिए ।

यादवले रक्सी सेवन गर्ने मान्छेले आफूसहित आफ्नो परिवार, समाज र राष्ट्रलाई नै बर्बाद गर्ने गरेको बताए । उनले रक्सीबाट सरकारले उठाउने कर भन्दा त्यसको सेवन गरेर विरामी परेपछि सरकारले स्वास्थ्य उपचारमा गर्ने खर्छ बढी रहेको जानकारी दिए ।

कार्यक्रममा मधेश प्रदेशका खानेपानी तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले सीमानाकामै गएर लागू औषधविरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले युवाहरुमा लागूऔषध सेवनको लत देशको भविष्यमाथि नाकारात्मक असर पार्ने भएकोले यसलाई नियन्त्रण गर्न सम्वेदनशिल भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लागू औषध सेवनको सिकार हुने देखि त्यसबाट पर्ने असर र कानुनमा रहेका सजायहरुबारे जानकारी गराइएको थियो । नेपाल भारत युवा संघ, धनुषाका अध्यक्ष डा. बजरंग यादवले एक जना विद्यार्थीले कम्तीमा १० जना अन्य विद्यार्थी वा समाजका व्यक्तिलाई आगू औषध सेवनबाट हुने समस्या र कानुनमा उल्लेखित सजायहरुबारे जानकारी गराउनु आग्रह गरेका थिए । उनले स्वयम सचेत नभएसम्म लागूऔषधविरुद्धको अभियान सफल हुन नसक्ने उल्लेख गरे ।

कार्यक्रममा मधेश प्रदेशका सांसद कुमरकान्त झाले अनियन्त्रीत रक्सी बेचविखनलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले भारतमा सरकारले तोकेको पसलबाट मात्र रक्सी खरीद गर्न सक्ने व्यवस्था रहेको जानकारी गराए । उनले हाम्रो समाजमा किराना पसलदेखि खाजा पसलसम्ममा रक्सी विक्रि हुनेगरेका कारण यसलाई नियन्त्रण र नियमन गर्न आवश्यक रहेको बताए । भारत जस्तै सरकारले नेपालमा पनि रक्सी विक्री वितरणमा कडाई गर्नु पर्ने सांसद झाको भनाई थियो ।

कार्यक्रममा डा.रवीन झाले लागू औषध सेवनले स्वास्थ्यमा पर्ने असरहरुबारे विद्यार्थीहरुलाई जानकारी गराएका थिए । लागू औषधको लत कसरी लाग्छ, लागेपछि देखिने दिर्घकालिन असर हरुबारे डा. झाले बताएका थिए ।

कार्यक्रममा मुस्कान सुधार केन्द्रका सञ्चालक सञ्जय ठाकुरले लागू औषधमा परेकाहरु अपराधी नभई रोगी रहेको धारणा राखेका थिए । उनले सुधार केन्द्रहरुमा लागू औषध सेवनकर्तालाई राखेर उनीहरुको लत छुटाउन सकिने जानकारी दिए ।

कार्यक्रममा धनुषा प्रहरीका डिएसपी मधुसुधन न्यौपानेले लागूऔषध सेवन गर्नेहरुका लागि कानुनमा कम्तिमा ३ महिना हिरासतमा राखेर अनुसन्धान गर्ने उल्लेख भएको जानकारी दिए । उनले यो तीन महिना हिरासतमा राख्ने मुख्य कारण उनीहरुलाई लागू औषध सेवन गर्ने बानिबाट टाढा राख्नु पनि रहेको बताए ।

Comment


Related News

Latest News

Trending News