२०८३ जेष्ठ २५, सोमबार ११:०४

रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित गरुडा–समनपुर सडकखण्डमा अज्ञात सवारी साधनको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको अवस्थामा फेला परेका छन्। मृतकको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यका अनुसार नम्बर नखुलेको सवारी साधनले साइकल यात्रीलाई ठक्कर दिँदा उनको टाउको गम्भीर रूपमा क्षतिग्रस्त भएको र घटनास्थलमै ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ।

घटना कहिले भएको हो भन्ने यकिन हुन नसके पनि सोमबार आज बिहान करिब ६ बजे स्थानीयवासीले सडक किनारमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ डीएसपी आचार्यसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक पुरुषको उमेर करिब ४० देखि ४५ वर्षको बीचमा हुन सक्ने अनुमान गरिएको छ। शव सडक किनारमा लडिरहेको अवस्थामा फेला परेको तथा मृतकको बायाँ खुट्टा साइकलको भागमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का उठाउनुका साथै आवश्यक प्रमाण संकलन गरेको छ। घटनाको प्रकृति हेर्दा दुर्घटना वा अन्य कुनै कारण हुन सक्ने भएकाले दुवै कोणबाट अनुसन्धान भइरहेको डीएसपी आचार्यले बताएका छन्।

उनका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको र कारणबारे निष्कर्ष निकालेर आज बेलुकीसम्म सार्वजनिक गरिने तयारी छ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको छ। साथै मृतकको पहिचान खुलाउन आसपासका क्षेत्रमा सोधपुछ तथा अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले मृतकको पहिचान वा घटनाबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

Comment


Related News