विपक्षी दलको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः नबसी भोलिसम्मका लागि स्थगित भएको छ ।
विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । तर समय सकिँदा पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरेको हो ।
गएको फागुन २१ गते भएको चुनावपछि आएको यो नयाँ प्रतिनिधिसभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित भएको हो ।
आजको बैठक शुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुख अर्यालले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताए ।
प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएयता विपक्षीहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन् ।

