मधेश आन्दोलनका शहीद परिवार फेरी आन्दोलित भएका छन् । उनीहरुले मंगलवार जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय घेराउ गर्ने भएका हुन् ।
सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै सहीद परिवारका सदस्यहरुले आफूहरुलाई अहिलेको प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण यादव र गृहमन्त्री फकिरा महतोले वेवास्ता गरेको आरोप लगाएका छन् । प्रदेश सरकारले शहीद परिवारका लागि उपलब्ध गर्ने भनिएका सेवा सुविधाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका छन् ।
गतवर्ष पनि प्रदेश सरकारको लापरबाहीका कारण मधेशी शहीद प्रतिष्ठानका लागि छुट् याइएको बजेट फ्रिज हुन पुगेको प्रतिष्ठानका सदस्य एवम् शहीद चन्दन पटेलका पिता अवदेश पटेलले जानकारी दिए । उनले यस वर्ष पनि प्रतिष्ठानको बजेट फ्रिज हुने निश्चित भएको बताए । पटेलका अनुसार बजेट फ्रिज हुनुको मुख्य कारण मुख्यमन्त्री र गूहमन्त्री रहेको छ ।
संघीयता स्थापना भएको समय मधेश प्रदेश सरकारले एक शहीद एक रोजगार घोषणा गरेको थियो । सोअनुरुप हरेक शहीद परिवारको एक सदस्यले पाउनु पर्ने रोजगारी सबैलाई दिनुपर्ने शहीद परिवारका सदस्यहरुको माग रहेको पटेलले जानकारी दिए । उनले शहीद परिवारका सदस्यहरुको शिक्षा, स्वास्थ्यको ग्यारेन्टि गर्नु पर्ने माग रहेको बताए ।
शहीद परिवारका निम्ति प्रदेश सरकारले २ वर्ष देखि ल्याउने भनेको ऐन हालसम्म प्रदेश सभामा पनि प्रस्तुत नगरेकोमा सो ऐन छिटो भन्दा छिटो प्रदेश सभामा प्रस्तुत गर्नु पर्ने आफूहरुको माग रहेको पटेलको भनाइ छ । शहीद परिवारका सदस्यहरुले भोलि (मंगलबार) मुख्यमन्त्री कार्यालय घेराउ गर्ने, बुधबार भोक हड् तालमा गर्नेलगायतका आन्दोलनका विभिन्न रणनीतिहरु अपनाउँदै जाने मधेशी शहीद प्रतिष्ठानका सदस्य पटेलले जानकारी दिए ।

