सर्वोच्च अदालतले पार्टी विभाजनलाई अवैध घोषणा गरेपछि जसपा नेपालका प्रदेश सांसदलाई लुम्बिनी प्रदेश सरकारद्वारा मन्त्री पदको शपथ गराइएको भन्दै प्रवक्ता मनिष सुमनले आपत्ति जनाएका छन् ।
लुम्बिनी प्रदेशमा भण्डारीलाल अहिरलाई सोमवार मन्त्रिमण्डलमा समावेश गरिएको छ ।यस अघि उनी जसपा नेपालबाट अलग भै जसपा तर्फ लागेका थिए । पार्टीका प्रवक्ता सुमनले अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेका हुन् । ‘हाम्रो यस न्यायसंगत र कानुनी मागलाई नजरअन्दाज गरिएमा सम्मानित अदालतको मानहानी गर्ने तथा बलमिच्याइँमा उत्रिने लुम्बिनी प्रदेश प्रमुख, मुख्यमन्त्री र एमाले–कांग्रेस सत्ता गठबन्धनविरुद्ध जसपा नेपाल सशक्त कानुनी प्रक्रियामा जान बाध्य हुने जानकारी गराउँदछौँ ‘ विज्ञप्तिमा भनिएको छ ।
सर्वोच्च अदालतले जसपालाई अमान्य ठहर गर्दै जसपा नेपाललाई वैधानिकता प्रदान गरिसकेको अवस्थामा अहिरको मन्त्री नियुक्ति असंवैधानिक भएको उनले दावी गरेका छन् । अदालतको फैसलासँगै दल विभाजनसम्बन्धी गैरकानुनी प्रक्रिया स्वतः खारेज भएको र सबै जनप्रतिनिधि तथा नेता–कार्यकर्ता कानुनी रूपमा जसपा नेपालकै मातहत रहेको विज्ञप्तिमा दाबी गरिएको छ ।
अदालतको फैसला कार्यान्वयनका लागि आधिकारिक जानकारी गराउँदा गराउँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एमाले–कांग्रेस सत्ता गठबन्धनको आडमा राजनीतिक नैतिकता र लोकतान्त्रिक मूल्य– मान्यतालाई बेवास्ता गरेको जसपा नेपालले आरोप लगाएको छ ।
लुम्बिनी प्रदेशमा सरकारले बहुमत पु¥याउन अहिरलाई साथ लिएको छ ।उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएको छ । भण्डारी लाल अहिर लुम्बिनी प्रदेशमा जसपा नेपालको नाममा मन्त्री बनेपनि मुख्यमन्त्री चेतनारायण आचार्यले अथवा सत्तागठबन्धनले जसपा नेपालसित सहमति गरेको छैन् ।
जसपा नेपालले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी-नेकपा) सहितको सरकारमा सहभागि नहुने निर्णय गरेको छ । मधेश प्रदेशमा जसपा नेपाललाई तीन दलीय गठबन्धनले अलग राखेको छ ।

