प्रतिनिधिसभाको बैठक मंगलबार पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको हो । मंगलबार पनि बैठक सुरु हुनेबितिकै बिपक्षी सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले बोल्नका लागि समय दिनुभएको थियो ।
सो क्रममा कांग्रेसका सचेतक निश्कल राईले नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित प्रधानमन्त्री लागेको र प्रधानमन्त्रीका समर्थहरुले समेत नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागि परेको टिप्पणी गर्नुभयो ।
उहाले सदनको अभिभावकको हैसियतमा सभामुखले अभिव्यक्ति हटाउन निर्देशन दिने आफुहरुको अपेक्षा रहेपनि त्यसो हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो । राईले रोस्ट्रममा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जवाफ दिने र आत्मालोचनाका लागि रुलिङको माग गर्नुभयो ।
त्यस्तै एमालेका सांसद क्षितिज थेबेले आफूहरूले विरोधका निम्ति विरोध नगरेको भन्दै राष्ट्रियताको विषय नबोले इतिहासले माफ नगर्ने बताउनुभयो । उहाले सदनमार्फत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुलुक र जनताप्रति भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सच्याएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनको गतिरोध अन्त्य गर्न सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने उहाको भनाइ छ ।
बिपक्षी सांसदको विरोधका कारण सदनको कामकारवाही प्रभावित भएपछि सभामुख अर्यालले सहज रुपमा सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर विपक्षी दलका सांसदहरूले अवरोध जारी राखेपछि सभामुख अर्यालले जेष्ठ २७ गते बुधबार ११ बजेबस्नेगरि बैठक स्थगित भएको घोषणा गर्नुभयो । सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै बिपक्षी दलले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

