एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) नेतृत्वको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठकले विभिन्न प्रदेश, सङ्गठन र निकायका पदाधिकारीहरूबाट सुझाव सङ्कलन गर्ने भएको छ ।
मङ्गलबार बसेको कार्यदल बैठकले सुझाव सङ्कलन तथा भेलाहरू गर्ने निर्णय गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । आचार्यका अनुसार सुझाव सङ्कलन तथा भेलाको तालिका समेत तय भएको छ।
जसअनुसार जेठ ३० गते बागमती प्रदेश, असार २ गते कोशी प्रदेश, ४ गते लुम्बिनी प्रदेश, ६ गते सुदूरपश्चिम प्रदेश,८ गते कर्णाली प्रदेश, ११ गते गण्डकी प्रदेश, १३ गते मधेस प्रदेश,१६गते राजधानी, १७ गते सम्पर्क समन्वय, १८ गते जनसङ्गठन र असार १९ गते विभाग प्रमुख र निकायका पदाधिकारीहरूको भेला गरी सुझाव सङ्कलन गरिनेछ।
ती भेलामा सम्बन्धित भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीहरू र जिल्ला पदाधिकारीहरू सहभागी हुनेछन्। कार्यक्रम संयोजन सम्बन्धित प्रदेशका प्रदेश इन्चार्जहरूले गर्नेछन् । कार्यदलको पहिलो बैठकले सदस्य सचिवको जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिने निर्णय पनि गरेको छ।
आयोजना हुने सबै भेलाहरूमा संयोजक, महासचिव र सदस्यहरूको उपस्थिति रहनेछ । कार्यदलका एक सदस्यका अनुसार सुझाव लिँदा प्रश्न तयार गरिनेछ । सोही प्रश्नका आधारमा सुझाव सङ्कलन गरिनेछ ।
कार्यदलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ पुग्न निर्देशन दिएका थिए। गत जेठ १० गते एमाले केन्द्रीय सचिवालयको आठौँ बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न थापाको नेतृत्वमा १५ सदस्यीय कार्यदल बनाएको थियो ।
कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ। तर, कार्यदलको पहिलो बैठक बस्नै १५ लागेको थियो । पहिलो बैठकको कार्यसूची नै असार १९ सम्मलाई तय गरेकाले कार्यदलको समय समेत थपिने देखिएको छ।

