भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धक बनाइएका दलित समुदाय मुसहर जातिका १६ जना मजदूरलाई उद्धार गरी घर फर्काएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, सुरक्षा निकायका प्रमुखहरु र आफन्त नेपालसहितले उनीहरुलाई स्वागत गरेका हुन् । मंगलबार बिहान भारतको दिल्लीस्थित नेपाली दूतावास पुगेका आवश्यक कानुनी प्रकृया पूरा गरी दिल्लीबाट हिँडेका उनीहरु बुधबार अपराह्न करिव ४ बजे सीमानाकामा पुगेका हुन् ।
महोत्तरीको बर्दिबास नगरपालिका– १४ मुसहर बस्तीका उनीहरु काम गर्न भनी भारतको हरियाणा गएका थिए । तर त्यहाँ भने अनुसारको काम नदिएको, तलव रोकेको र कुटपिटजस्ता समस्या भएपछि घरमा खवर गरेका थिए । बर्दीबास इलाका प्रहरी कार्यालयबाट प्राप्त सूचनाको आधारमा नेपाली दूतावास, नयाँ दिल्लीको समन्वय तथा हरियाणा प्रहरीको क्राइम ब्रान्चअन्तर्गत मानव तस्करीविरोधी इकाई, भारत सरकारका सम्बन्धित निकाय र आफन्त इण्डिया फाउन्डेशनको संयुक्त पहलमा सोमबार उनीहरुको उद्धार गरिएको हो ।
उद्धार गर्न गएका आफन्त इण्डियाका उद्धार अधिकृत मानबहादुर श्रेष्ठले उनीहरुको अवस्था दयनीय भेटिएको र साहुलाई बक्यौता तत्काल तिर्न लगाएर स्वदेश ल्याइएको बताए ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले उद्धार भएर आएका सवैलाई स्वागत गर्दै उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिए ।
उद्धार गरिएकाहरुलाई वडा नं. १४ का वडाअध्यक्षले व्यवस्था गरिदिएको भाडाको बसमा बर्दिवासस्थित घर पठाइएको छ ।

