रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर चोकमा चार दिनअघि भएको घातक सवारी दुर्घटनाको रहस्य अन्ततः खुलेको छ। दुर्घटनापछि सवारीसहित फरार भएका टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेपछि घटनाको वास्तविकता सार्वजनिक भएको हो।
जेठ २४ गते राति करिब १ बजे गरुडा–समनपुर सडकखण्ड अन्तर्गत सुन्दरपुर चोकमा साइकलमा घर फर्किरहेका गढीमाई नगरपालिका–९ मलाहीका ३५ वर्षीय प्रमोद सहनीलाई प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिप्परले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने चालक तत्काल फरार भएका थिए।
घटनापछि स्थानीयवासी र मृतकका आफन्त आक्रोशित बनेका थिए। दोषी चालक र सवारी साधनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरूले गरुडा बजार क्षेत्रमा सडक अवरुद्धसमेत गरेका थिए। प्रहरीको आश्वासनपछि आन्दोलन स्थगित गरिएको थियो।
घटनालाई चुनौतीपूर्ण रूपमा लिँदै इलाका प्रहरी कार्यालय गरुडाले व्यापक अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा १९ वटा टिप्पर र १७ भन्दा बढी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो।
सोही क्रममा बृन्दावन नगरपालिका–२ निवासी २४ वर्षीय अब्दुल एजाजलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यका अनुसार प्रारम्भिक बयानका क्रममा एजाजले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्।
प्रहरीका अनुसार एजाजले शिवम् क्रसर उद्योगबाट ढुङ्गा बोकेर गरुडातर्फ जाँदै गर्दा साइकलमा सवार प्रमोद सहनीलाई ठक्कर दिएका थिए। दुर्घटनापछि उनी घटनास्थलबाट भागेका थिए।
प्रहरीले पक्राउ परेका एजाजविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
चार दिनसम्म अन्योल र आशंकाबीच रहेको घटनाले चालक पक्राउ परेसँगै स्पष्टता पाएको छ। मृतकका परिवारले दोषीलाई कानुनअनुसार कडा सजाय दिन माग गरेका छन् भने प्रहरीले घटनाका बाँकी पक्षबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।

