एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोग र नेपाल सरकारको लगानीमा जनकपुरधाम उपमहानगरपालिकाभित्र निर्माण गरिएको सडक तथा ढल निकास प्रणालीको गुणस्तरमाथि फेरि प्रश्न उठेको छ ।
करिब चार वर्षअघि एक अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सडक र ढल प्रणाली सामान्य वर्षामै प्रभावहीन देखिन थालेपछि नगरका विभिन्न क्षेत्र जलमग्न हुने समस्या दोहोरिन थालेको छ ।
परियोजना अन्तर्गत जनकपुरधाममा १३ किलोमिटर सडक तथा ३२ किलोमिटर ढल र नाला निर्माण गरिएको थियो। तर निर्माणकै क्रममा गुणस्तरहीन काम भएको भन्दै स्थानीयवासीले उठाएका प्रश्न अहिले व्यवहारमै पुष्टि हुँदै गएको देखिएको छ। ढल तथा नालाले प्रभावकारी रूपमा पानी निकास गर्न नसक्दा सामान्य वर्षापछि नै नगरका सडक, सरकारी कार्यालय परिसर र बस्तीहरूमा पानी जम्ने गरेको छ ।
बिहीबार बिहान परेको सामान्य वर्षापछि जनकपुरधामका प्रमुख सडकहरू जलमग्न बनेका थिए। पानी निकास हुन नसक्दा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, संघीय समन्वय प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला हुलाक कार्यालय, डिभिजन वन कार्यालय, राष्ट्रिय समाचार समिति, प्रादेशिक अस्पताल तथा प्रदेश सरकारका विभिन्न मन्त्रालय परिसरमा समेत पानी जमेको थियो ।
यस्तै वडा नम्बर १, २, ४, ७, ८, १०, ११ र १३ का मुख्य सडकहरू तथा स्थानीयवासीका घर–आँगनमा समेत पानी भरिएपछि दैनिक जनजीवन प्रभावित बनेको थियो । वडा नम्बर ११ का स्थानीय प्रफुल्लराज घिमिरेका अनुसार एडीबीको ऋण सहयोगमा जडान गरिएका ढलका पाइपहरू समान मापदण्डअनुसार नबनाइएकाले विभिन्न स्थानमा सडक फुट्ने, ढल अवरुद्ध हुने र वर्षाको पानी निकास नपाएर सडक तथा बस्ती डुब्ने समस्या बढ्दै गएको छ।
वडा नम्बर ४ का रामईश्वर यादवले ढल तथा नालामा प्रयोग गरिएका हेमपाइपहरू मापदण्डविपरीत जडान गरिएको दाबी गरे । उनका अनुसार पाइपमुनि आवश्यक स्ल्याब नबनाई सिधै राखिएकाले सवारीसाधनको भार पर्दा पाइपको जोड छुट्ने, सडक भासिने र पानी निकास प्रणाली अवरुद्ध हुने समस्या देखिएको छ ।
यादवले सडक निर्माणकै क्रममा हेमपाइप जडानको विषयमा पटक– पटक विवाद भएको स्मरण गर्दै नेपाल दूरसञ्चार कार्यालय अगाडि तत्कालीन मेयर लालकिशोर साहले समेत मापदण्ड अनुसार काम गर्न निर्माण कार्य रोक्न लगाएको बताए। तर पछि ठेकेदार कम्पनीले आन्दोलनरत पक्ष र तत्कालीन नेतृत्वलाई प्रभावमा पार्दै विवादित शैलीमै कामलाई निरन्तरता दिएको उनको आरोप छ ।
सडक तथा ढल निर्माणमा कमजोरी भएको विषयमा विगतदेखि नै स्थानीय तहमा आवाज उठ्दै आएको छ। विभिन्न स्थानमा सडक भासिने र खाल्डाखुल्डी देखिएपछि उपमहानगरपालिकाले बालुवा र गिट्टी हालेर अस्थायी व्यवस्थापन गर्दै आएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले समेत विगतमा निर्माण गरिएको सडक तथा ढल प्रणाली मापदण्डअनुसार नभएको स्वीकार गरेका छन्। उनका अनुसार पर्याप्त अध्ययन– अनुसन्धान बिना निर्माण गरिएका संरचनाका कारण अहिले पानी जम्ने, सडक भासिने तथा ठाउँ–ठाउँमा टुटफुट हुने समस्या बढेको हो ।
प्राविधिक परीक्षणका क्रममा ढलमा जडान गरिएका हेमपाइप आवश्यक ढलान (स्लोप) अनुसार नराखिएको पाइएको मेयर साहले बताए। उनका अनुसार पाइप स्ल्याबमाथि राख्नुपर्नेमा सिधै माटोमा जडान गरिएकाले माटो भिजेपछि पाइप धसिने र त्यसको असर सडक संरचनामा देखिने गरेको छ। यसले पानी निकास प्रक्रियालाई समेत प्रभावित बनाएको छ ।
मेयर साहका अनुसार अहिलेको अवस्थामा दीर्घकालीन समाधानका लागि अधिकांश सडक पुनः भत्काएर ढल प्रणाली पुनर्निर्माण गर्नुपर्ने अवस्था देखिएको छ। तर त्यसका लागि आवश्यक ठूलो बजेट उपमहानगरपालिकासँग उपलब्ध छैन । उनले नगरवासीलाई ढल तथा ड्रेनेजमा प्लास्टिक, कागज लगायतका फोहोर नफाल्न आग्रह गर्दै विद्यमान संरचनाको संरक्षणमा सहयोग गर्न अपिल गरेका छन् ।
जनकपुरधामम ा वर्षेनि दोहोरिने जलमग्नताको समस्या अब केवल प्राकृतिक कारणमा सीमित नरही निर्माण गुणस्तर, प्राविधिक कमजोरी र दीर्घकालीन योजना अभावसँग समेत जोडिएको विषयका रूपमा अगाडि आएको स्थानीयवासीको भनाइ छ ।
२०६९ वैशाख २६ गते सम्झौता भएको उक्त सडक निर्माण कार्य जग्गा अधिग्रहणको विवादले वर्षौसम्म अडेको थियो । २०७२ को निर्वाचनपछि लालकिशोर साह मेयरमा निर्वाचित भएपछि प्रहरी सहयोगमा बलप्रयोग गर्दै जग्गा अधिग्रहण गरिएपछि अन्नतः ९ वर्षपछि २०७८ सालमा निर्माण सम्पन्न भएको थियो ।
चीनको जेडआइइसी र काठमाडौंस्थित शर्मा निर्माण कम्पनीले संयुक्त रुपमा ठेक्का पाएको काम जनकपुरकै रमण कन्स्ट्रक्सन कम्पनीले पेटी ठेक्कामा लिएको हो । सो परियोजनाको ल्याण्डफिल्ड साइट जग्गा विवादकै कारण सफल हुन सकेन् ।

