२०८३ जेष्ठ २९, शुक्रबार ०८:१५

नेकपा एमालेका नेता शिवशंकर साह हिराले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले केही राजनीतिक दलका नेताहरुले प्रहरीको सहयोगमा फंसाउन खोजेको आरोप लगाएका छन् ।

बालिका अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दा अभियुक्त भनिएका नेता साह सहितका ६ जनाले अदालतबाट सफाई पाएपछि बिहीवार एक पत्रकार सम्मेलन आयोजना गरी भने आफ्नो राजनीतिक कैरियर समाप्त पार्ने उद्देश्यले आफ्नो चरित्र हत्या हुने गरी बालिका अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीमा फंसाउन खोजेको थियो ।

तर अदालतले सही फैसला गर्दा आफू न्याय पाएको छ । पत्रकारहरुको जिज्ञासामा हिराले भने विगतमा आफूसँग चुनाव लडेका केही प्रतिष्पर्धी तथा आउँदो निर्वाचनमा आकांक्षी रहेका केही राजनीतिक दलका नेताहरुले तात्कालिन प्रहरी उपरिक्षक रुग्म बहादुरलाई प्रभावमा पारेर आफूलाई यस्ता गम्भीर आरोपमा फंसाउन खाजेको थियो । तर उनीहरुको त्यो चाल सफल हुन सकेन । हिराले अदालतको फैसलालाई सम्मान गर्दै अदालतले तथ्य, प्रमाण, बयान तथा अनुसन्धानका आधारमा निर्णय गरेको उल्लेख गर्दै आफू सुरुदेखि नै निर्दोष रहेको बताउँदै आएका कारण अन्ततः सत्यको विजय भएको दाबी गरे ।

उनले भने ‘ममाथि लगाइएका आरोप अत्यन्त गम्भीर थिए । ती आरोपका कारण मेरो राजनीतिक जीवन, सामाजिक प्रतिष्ठा र पारिवारिक जीवनमा ठूलो असर पर्न गएको थियो, तर, सम्मानित जिल्ला अदालतले सबै पक्षको अध्ययन गरी हामी सबैलाई सफाइ दिएको छ । यसले सत्यलाई स्थापित गरेको छ ।’

जिल्ला अदालत धनुषाले शिवशंकर साह हिरासहित अमित ठाकुर, संजय महासेठ, मनोज साह, रामकुमार साह र रामबाबु झालाई आरोप पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको निष्कर्षसहित सफाइ दिएको थियो । घटनामा हिरा, ठाकुर र महासेठमाथि अपहरणको अभियोग लगाइएको थियो भने अन्य आरोपितमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरिएको थियो ।

उनले आफ्नो ऊर्जा अब जनताको सेवामा केन्द्रित गर्ने बताए । अदालतको फैसलापछि आफू अझ जिम्मेवार बनेको उल्लेख गर्दै राजनीतिक जीवनलाई थप सक्रिय बनाउने बताए । उनका अनुसार मुद्दाका क्रममा कथित पीडित बालिका तथा उनकी आमाले अदालतमा दिएको बयानले पनि अभियोगलाई पुष्टि नगरेको र अनुसन्धानबाट समेत आरोप स्थापित हुन नसकेको अवस्था अदालतको फैसलामा उल्लेख गरिएको छ ।

Comment


Related News