२०८३ जेष्ठ २९, शुक्रबार ११:३५

रौतहटको परोहा नगरपालिका–७ नरकटिया गाउँकी एक वृद्धा महिला खेतमा मृत अवस्थामा फेला परेकी छन्। घटनालाई लिएर स्थानीयवासीले लुटपाटपछि हत्या गरिएको आशंका व्यक्त गरेका छन्।

स्थानीय दीपनारायण पटेलकी ७० वर्षीया श्रीमती लखपतिया देवी शुक्रबार बिहान घरबाट खेतबारी हेर्न निस्किएकी थिइन्। केही समयपछि गाउँनजिकै रहेको राजपइन (कुलो) छेउको खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि गाउँमा शोकको वातावरण छाएको छ। स्थानीयका अनुसार वृद्धाले लगाउने सुनको नाकको फुली समेत नभेटिएकाले गहना लुटपाटका क्रममा हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको नाकबाट रगत बगेको देखिए पनि शरीरमा अन्य कुनै चोटपटक फेला परेको छैन।

‘शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। पोस्टमार्टम रिपोर्ट आएर अनुसन्धान पूरा भएपछि मात्र मृत्युको वास्तविक कारणबारे यकिन गर्न सकिन्छ,’ उनले जनकपुर टुडेसँग भनेका छन्।

प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। यद्यपि हालसम्म मृत्यु लुटपाट, हत्या वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा निष्कर्षमा पुग्न नसकिएको प्रहरीको भनाइ छ। डिएस्पी गौतमले मृतकका छोराले हत्याको आशंका बारे जाहेरीमा उल्लेख नगरे पनि अनुसन्धान भइरहेको बताएका छन्।

Comment


Related News

Latest News

Trending News