धनुषा–सिरहालाई जोड्ने कमला पुल चालु आर्थिक वर्षमा पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनु अगावै भासिएको उक्त पुल अहिलेसम्म पनि निर्माण हुनसकेको छैन ।
सो पुल भासिए देखि अहिलेसम्म पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएकाहरुले ठेकेदारलाई पुल निर्माण सम्पन्न गर्न निर्देशन दिदैँ आए पनि हालसम्म पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । करिब १५ वर्षदेखि निर्माणाधीन सो पुलको पुनःनिर्माण समयमै हुनुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बनेका पूर्वाधार मन्त्री सुनिल लम्सालले केही साता अघि कमला पुलसंगको एक सेल्फी लिदैँ निर्माण कम्पनीलाई तत्काल निर्माण कार्य तीव्रगतिमा अघि बढाउन निर्देशन दिएका थिए ।
वर्षा शुरु भएसंगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ । मधेसश प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । विसं २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु–लुम्बिनी जेभीसंग ठेक्का सम्झौता भएको थियो ।
सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो । बिल्डर्सको कमाण्डमा निर्माण अन्तिम चरणमा पुगिसकेकाले विसं २०७८ साउनमा उद्घाटनको तयारी गरिसकेको अवस्थामा पुल भासिएको थियो ।
१३ पाया (पिलर) र १२ स्पान (स्ल्याब) रहेको पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो । पुल भासिएपछि निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले केही वर्ष काम नै रोकिएको थियो । कमला नदीमा पुल नबन्दा धनुषा र सिरहाका नागरिकको जनजीवन प्रभावित हुँदै आएको सिरहा नगरपालिका–१७ का प्रवीण साहले बताए ।
यहाँका सर्वसाधारणलाई मधेश प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । बाढीले आवतजावत प्रभावित भएपछि सिरहाका नागरिक गम्भीर प्रकृतिको उपचार गराउन जनकपुरधाम वा कोशी प्रदेशको राजधानी विराटनगर पुग्न समस्या हुने गरेको उनले गुनासो गरे । सिरहाबाट जनकपुरधाम पुग्न हुलाकी राजमार्गबाट ३० किलोमिटर पर्दछ भने महेन्द्र राजमार्ग भएर जाँदा ९० किलोमिटर पर्दछ ।

