२०८३ जेष्ठ ३०, शनिबार १४:३२

इजरायली सेनाले दक्षिणी लेबनानका करिब २० वटा सहर तथा गाउँका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान चेतावनी दिएको छ। युद्धविराम कायम रहेकै अवस्थामा गरिएको यो चेतावनी मुख्यतः नबातियेह क्षेत्र आसपासका बस्तीहरूलाई लक्षित गरिएको हो।

इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समार्फत जारी सन्देशमा स्थानीय बासिन्दालाई ‘आफ्नो सुरक्षाका लागि तत्काल घर छोडेर जहरानी नदीको उत्तरतर्फ जान’ आग्रह गरेका छन्।

उनले हिजबुल्लाहका सैन्य संरचना तथा हतियार भण्डारणस्थल नजिक बसोबास गर्नेहरू आफ्नो ज्यान जोखिममा पारिरहेको दाबी गर्दै हिजबुल्लाहले युद्धविराम उल्लङ्घन गरेको आरोप पनि लगाए।

इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविराम घोषणा भए पनि दक्षिणी लेबनानमा तनाव पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। पछिल्ला साताहरूमा इजरायलले विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ भने हिजबुल्लाहसँग सम्बन्धित संरचनालाई निशाना बनाएको दाबी गर्दै आएको छ।

चेतावनीपछि प्रभावित क्षेत्रका बासिन्दाबीच पुनः विस्थापनको त्रास बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Comment


Related News

Latest News

Trending News