नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर विवाद चर्किरहेका बेला शेरबहादुर देउवा पक्षधरका नेताहरूले मधेश प्रदेशमा छुट्टै प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गरेका छन् ।
पार्टी संस्थापन पक्षसंग टाँढिदैँ गइरहेको बेला देउवा पक्षधरहरुले जनकपुरधाममा शनिबार मधेश प्रदेशमा छुट्टै प्रदेशस्तरीय कार्यकर्ता भेला गर्दै आसन्न प्रदेश र स्थानीय तहको निर्वाचनका लागि अहिलेदेखि नै स्थानीयस्तरमा सक्षम र योग्य व्यक्तिलाई उम्मेदवार बनाउनका लागि वडास्तरसम्म पार्टी कमिटीलाई बलियो बनाउन नेताहरुले निर्देशन दिएका छन् ।
महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित ‘नेपाली कांग्रेस एकता, पार्टी सुदृढीकरण तथा देशको समसामयिक राजनीतिक विषयमा छलफलका लागि मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला’ मा बोल्दै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गर्दै संगठनात्मक एकता कायम राख्नुपर्नेमा जोड दिए पनि वडास्तरसम्म नै कमिटी निर्माण गर्न निर्देशनसमेत दिए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले आसन्न प्रदेश र स्थानीय तहको निर्वाचनमा केन्द्रित भइ पार्टी कमिटी निर्माण वडास्तरसम्म गर्नका लागि निर्देशन दिए । उनले भने, ‘यसपटक पनि टिकट कसले कसरी टिकट बाड् लान् ठेकनान छैन, तर अहिले देखि नै सशक्त उम्मेदवार खोज्नका लागि पनि पालिका कमिटी, वडास्तरी पार्टी कमिटी शसक्त रुपमा गठन गर्नुपर्छ ।Ú नेता निधिले भने, ‘अहिलेदेखि नै पार्टीलाई सशक्तढंगले निर्माण गर्न र सक्षम तथा योग्य उम्मेदवारको नाम छनोट गरी निर्वाचनमा उठाउनुपर्छ । यसका लागि उम्मेदवार पनि अहिलेदेखि नै खोजौँ, कसले कारबाही गर्छ, त्यो पनि हामी हेर्छौ, त्यसको प्रतिकार गर्न पनि हामी तयार रहौँ ।’
मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहेको छ । तर नेता निधिले भने मधेश प्रदेशमा प्रदेश सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरे । उनले नेता तथा कार्यकर्तालाई मधेश प्रदेश सरकारले काम नै गर्न नसकेको भन्दै प्रचारप्रसार गर्न समेत आग्रह गरे । विचार र दृष्टिकोणमा फरकपन हुनु लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भए पनि त्यसलाई विभाजन वा टकरावका आधार बनाउन नहुने उनको भनाइ छ । उनले पार्टीभित्र देखिएको असन्तुष्टि, संगठन सञ्चालनका विषयमा उठेका प्रश्न तथा नेतृत्वप्रतिको गुनासोलाई खुला छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए । कांग्रेसको मुख्य शक्ति यसको लोकतान्त्रिक संस्कार, कार्यकर्ताको समर्पण र संगठनात्मक एकतामा रहेको बताए ।
पार्टीलाई आगामी दिनमा थप सशक्त, प्रभावकारी र जनमुखी बनाउन सबै पक्षले साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने उनले बताए । प्रतिनिधिसभा निर्वाचनको समयमा वर्तमान प्रधानमन्त्री बालेन्द्र साहले काठमाण्डु अधिकार माग्न नभइ, घुम्न आउन आह्वान गरेको स्मरण गर्दै नेता निधिले सरकार बनेको केही महिना वितिसक्दा पनि प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिहरु अहिलेसम्म अधिकारविहीन नै रहेको टिप्प्णी गरे । उनले बालेन नेतृत्वको सरकारसंग प्रश्न गर्दै भने, ‘काठमाण्डु घुम्न आउन भन्ने तर सरकारमा आइसकेपछि पनि यहाँका जनतासमेतलाई काठमाण्डुमा दर्शन मात्र नभइ अधिकारका लागि पनि त्यहीँ जानुपर्ने बाध्यता अन्त्य कसको कारण हुन सकेको छैन ।’ उनले अघि थप्दैँ भने, अहिले त संघीयता झनै कमजोर भएको छ, त्यसैले पनि मधेश प्रदेशमा मात्र नभइ देशव्यापीरुपमै संघीयताका लागि एकपटक अझैँ आन्दोलन गर्नुपर्ने भएकाले यसको तयारी सशक्त रुपमा गर्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका लागि एकपटक अझै लडाइ लड्न तयार रहौँ ।’ सरकारको गतिविधिका कारण सीमावर्ती क्षेत्रका जनताहरु केही दिनदेखि सास्ती भोग्न बाध्य भएको बताउँदै नेता निधिले भने, ‘काठमाण्डुको संसद र सिंहदरबारको सरकारले जुन गतिविधि गरिहेको छ, त्यसको असर बोर्डरमा परिरहेको छ, गाउँमा परिरहेको छ । त्यसैले अधिकारका लागि काठमाण्डु नै धाउनु परेको छ, त्यसको लागि लड्नुपर्छ ।’
भेलाका संयोजक तथा राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले भेलाको उद्देश्यबारे जानकारी गराउँदै पार्टीभित्र देखिएका विभिन्न धारणा र असन्तुष्टिलाई लोकतान्त्रिक प्रक्रियाबाट व्यवस्थापन गर्नुपर्ने धारणा राखे । उनले कांग्रेसको संगठनलाई तल्लो तहसम्म थप सुदृढ बनाउने, कार्यकर्ताको भावना नेतृत्वसमक्ष पु¥याउने तथा समसामयिक राजनीतिक विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिए ।
नेता उमाकान्त चौधरीले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई व्यवहारमा उतार्न नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध थप मजबुत हुनुपर्ने बताए । नेता मोहनबहादुर बस्नेतले कांग्रेसलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित राख्न सङ्गठनात्मक सुधार, नेतृत्वको उत्तरदायित्व, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।
नेता गुरुप्रसाद बरालले कांग्रेसभित्र उठेका आवाज र बहसलाई पार्टीको लोकतान्त्रिक जीवनको अभिन्न अङ्गका रूपमा लिनुपर्ने बताए । यस भेलामा उपसभापति पूर्णबहादुर खड् कानिकट नेताहरू तथा अन्य असन्तुष्ट समूहको पहलमा जनकपुरधाममा आयोजित भेलामा मधेश प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

