आमसञ्चार प्राधिकरण मधेश प्रदेशले सञ्चार क्षेत्रलाई थप व्यवस्थित, उत्तरदायी र व्यावसायिक बनाउने उद्देश्यले सरोकारवालाहरूसँग कार्यविधि सम्बन्धी विस्तृत छलफल कार्यक्रम आयोजना गरेको छ ।
पत्रकार महासंघका पदाधिकारी, सञ्चार क्षेत्रका विज्ञ तथा विभिन्न जिल्लाका पत्रकार प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले भने सञ्चारमाध्यमलाई अझ जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी बनाउन स्पष्ट कार्यविधिको आवश्यकता रहेको बताए । उनले प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सञ्चार क्षेत्रको संस्थागत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
‘सञ्चार क्षेत्रलाई नियमन गर्ने नाममा नियन्त्रण मात्र नभई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले कार्यविधि निर्माण गर्न लागिएको हो,’ मन्त्री महतोले भने, ‘पत्रकार र सञ्चार संस्थाको हकहित संरक्षण गर्दै व्यावसायिक पत्रकारितालाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिएको छ ।’ आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खडकाले कार्यविधि निर्माण प्रक्रियामा सरोकारवालाको सुझावलाई उच्च महत्व दिइने बताए । उनले सञ्चार क्षेत्रको वर्तमान अवस्था, डिजिटल माध्यमको विस्तार तथा बदलिँदो प्रविधिलाई ध्यानमा राखेर कार्यविधि तयार गरिने जानकारी दिए ।
नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक केसी लामिछानेले कार्यविधि निर्माण गर्दा पत्रकारको पेशागत स्वतन्त्रता र संवैधानिक अधिकारलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे । उनले सञ्चार क्षेत्रको विकासका लागि राज्य र सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको बताए । महासंघका केन्द्रीय सदस्य राजेश कर्णले प्रदेशस्तरमा सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न खोजिएको प्रयास सकारात्मक रहेको उल्लेख गर्दै कार्यविधि व्यवहारिक र कार्यान्वयनयोग्य हुनुपर्नेमा जोड दिए । उनले पत्रकारको क्षमता अभिवृद्धि, श्रम अधिकार तथा सञ्चार संस्थाको दिगोपनालाई पनि प्राथमिकतामा राख्न सुझाव दिए ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले पत्रकारिताको बदलिँदो परिवेशलाई ध्यानमा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झाले पत्रकारिताको विश्वसनीयता कायम राख्न आचारसंहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता, सप्तरी अध्यक्ष श्रवण देव, सिरहा अध्यक्ष मनोज मोरबैता, महोत्तरी अध्यक्ष महेश दास, सर्लाही अध्यक्ष ओमप्रकाश ठाकुर, रौतहटका अध्यक्ष सञ्जय कार्की, बारा अध्यक्ष रमेश सुवेदी तथा पर्सा शाखाका संस्थापक पूर्वअध्यक्ष दिपेन्द्र चौहानलगायतले आ–आफ्नो धारणा राख्दै पत्रकारिता क्षेत्रका समस्या, चुनौती तथा सम्भावित समाधानबारे सुझाव प्रस्तुत गरेका थिए ।
वक्ताहरुले विशेष गरी पत्रकारको पेशागत सुरक्षा, सञ्चार संस्थाको आर्थिक सुदृढीकरण, डिजिटल पत्रकारिताको व्यवस्थापन, फेक न्युज नियन्त्रण, पत्रकार कल्याण कोषको प्रभावकारी सञ्चालन तथा स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धनजस्ता विषयलाई कार्यविधिमा समेट्न आग्रह गरेका थिए ।

