तराई–मधेशमा गर्मी दिनप्रतिदिन चर्किंदै गएको छ। बाहिरको तापक्रमले जनजीवन प्रभावित भइरहेका बेला रौतहटका एक सामुदायिक विद्यालयका सयौं विद्यार्थी भने पंखाविहीन कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन्। गर्मीका कारण कक्षामा बस्नै कठिन हुने अवस्था हुँदा पनि उनीहरू दैनिक रूपमा त्यही वातावरणमा पढिरहेका छन्।
रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित आधारभूत विद्यालय मेवामा अध्ययनरत ५४२ विद्यार्थी अहिले प्रचण्ड गर्मीको मार खेप्दै शिक्षा लिन बाध्य छन्। विद्यालयमा १२ वटा कक्षाकोठा भए पनि कुनै पनि कोठामा पंखा जडान गरिएको छैन। अझ अचम्मको कुरा, चार वर्षअघि निर्माण भएको भवनमा अहिलेसम्म विद्युत् वायरिङसमेत गरिएको छैन।
स्थानीय समाजसेवी वीरेन्द्र यादवका अनुसार बालशिक्षादेखि कक्षा ८ सम्मका विद्यार्थी मात्र होइन, शिक्षक र कर्मचारीहरू पनि गर्मीले पोल्ने कोठाभित्रै दैनिक जिम्मेवारी निर्वाह गरिरहेका छन्।
विद्यालयका प्रधानाध्यापक रामजनम महतोका अनुसार भवन निर्माणकै क्रममा विद्युत् वायरिङ नगरिएकाले अहिले पंखा जडान गर्न समस्या भएको हो। उनी २०८० साल भदौमा विद्यालयमा सरुवा भएर आएपछि वायरिङका लागि लागत अनुमान गराउँदा करिब १ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको बताए।
“विद्यालयको आफ्नै आयस्रोत छैन। आवश्यक बजेटको व्यवस्था हुन नसक्दा वायरिङको काम अघि बढाउन सकिएको छैन,” महतोले भने।
शिक्षक अभावले झन् जटिल बन्यो अवस्था
विद्यालयमा भौतिक पूर्वाधारको समस्या मात्र छैन, शिक्षक अभाव पनि उत्तिकै गम्भीर छ। ५४२ विद्यार्थी रहेको विद्यालयमा प्राथमिक तहका चार शिक्षक, निम्न माध्यमिक तहका एक अनुदान शिक्षक, एक बालविकास सहजकर्ता र एक कार्यालय सहयोगी मात्र कार्यरत छन्।
यस हिसाबले एक शिक्षकले औसत ११० भन्दा बढी विद्यार्थीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था देखिन्छ। जबकि सरकारी मापदण्डअनुसार मधेश प्रदेशमा ४० विद्यार्थी बराबर एक शिक्षकको दरबन्दी हुनुपर्ने व्यवस्था छ।
प्रधानाध्यापक महतोले शिक्षक दरबन्दी थप, निजी स्रोतका शिक्षक व्यवस्थापन, भवनमा वायरिङ तथा अन्य आवश्यक पूर्वाधार सुधारका लागि पटक–पटक नगरपालिका समक्ष आग्रह गरिएको भए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो गरे।
“विद्यालयको वास्तविक अवस्था र आवश्यकताबारे नगरपालिकालाई बारम्बार जानकारी गराएका छौँ। तर समस्या समाधानतर्फ कुनै प्रभावकारी कदम देखिएको छैन,” उनले भने।
स्थानीय सरकारप्रति उठ्यो प्रश्न
यस विषयमा प्रतिक्रिया लिन फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनसँग सम्पर्क गर्ने प्रयास गरिए पनि प्रतिक्रिया प्राप्त हुन सकेन।
संविधानले शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको वर्षौं बितिसक्दा पनि सयौं विद्यार्थी पंखाविहीन कक्षामा बसेर अध्ययन गर्न बाध्य हुनु, शिक्षक अभाव कायम रहनु र आधारभूत पूर्वाधारसमेत अधुरो रहनुले सामुदायिक शिक्षाप्रति सम्बन्धित निकायको प्राथमिकता र संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
गर्मीको चर्को मौसममा विद्यार्थीको स्वास्थ्य, सिकाइको गुणस्तर र विद्यालयको समग्र शैक्षिक वातावरणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा सम्बन्धित निकायको ध्यान कहिले पुग्छ भन्ने प्रश्न अहिले स्थानीय अभिभावक र विद्यार्थीबीच उठ्न थालेको छ।


