२०८३ असार १, सोमबार १९:०४

रौतहटको बौधीमाई नगरपालिका–६ मा रहेको बलवान इँटा उद्योग नजिकको पानी भरिएको खाडलमा डुबेर एक १० वर्षीय बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार सोमबार दिउँसो करिब १२स्४५ बजे स्थानीय दीपेन्द्र राय यादवका छोरा सुप्रित यादव खाडलमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक सुरक्षा तथा प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। उक्त स्थान प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ।

पछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर विश्वनाथ यादवको नेतृत्वमा सोको टोली ९अनुसन्धान० टोली घटनास्थल पुगेको थियो। टोलीले मुचुल्का उठाउने तथा घटनाको विस्तृत अनुसन्धान गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ। मुचुल्का गरी शव लाई पोष्टमार्टम का लागि प्रादेशिक अस्पताल गौर पठाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालक कसरी खाडलमा पुगे र डुबेर मृत्यु हुन पुग्यो भन्ने विषयमा अनुसन्धान जारी छ।

स्थानीयवासीका अनुसार इँटाभट्टाका लागि माटो निकाल्न खनिएका खाडलहरू काम सकिएपछि नपुरिँदा वर्षायाममा पानी भरिने गर्छ। यस्ता खुला र असुरक्षित खाडल बालबालिकाका लागि जोखिमपूर्ण बन्दै गएका छन्। पछिल्ला वर्षहरूमा यस्तै खाडलमा डुबेर हुने दुर्घटनाका घटना पनि दोहोरिने गरेका छन्।

स्थानीयहरूले यस्ता खाडल तत्काल पुर्न वा सुरक्षा व्यवस्था गर्न सम्बन्धित निकाय र इँटाभट्टा सञ्चालकहरूको ध्यानाकर्षण गराएका छन्।

Comment


Related News

Latest News

Trending News