२०८३ असार २, मंगलवार ०७:५४

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१, सोहनी गाउँमा संकटमा ज्यान परेका एक १८ दिने नवजात शिशुको ज्यान जोगिएको छ । समयमै चिकित्सकीय हस्तक्षेप भएपछि मृत्युको मुखमा पुगेको शिशुको ज्यान जोगिएको हो ।

स्थानीय २४ वर्षीया रीता देवी मण्डलले राति करिब १२ बजेतिर ओछ्यानमै सुतेर आफ्ना १८ दिने शिशुलाई स्तनपान गराइरहेकी बेला शिशुको नाकबाट सिँगानजस्तै दूध निस्किन थालेको र शरीर निलो हुँदै गएपछि घरपरिवारमा रुवाबासी मच्चिएको थियो । आत्तिएका शिशुका पिता चन्दे मण्डलले गाउँमै रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सतिन्द्र रायलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै शिशुको घर पुगेका डा. रायले परीक्षण गर्दा अक्सिजनको कमीका कारण शिशुको शरीर निलो भएको र ‘अस्पाइरेशन अफ मिल्क’ (दूध श्वासनलीमा पस्ने अवस्था) का कारण ज्यान जोखिममा परेको पत्ता लगाए ।

डा. रायका अनुसार शिशुको अवस्था अत्यन्तै नाजुक थियो । प्रारम्भिक उपचारपछि उनले आफ्नै निगरानीमा सिपिआर दिँदै रातिको समयमा सवारीसाधनको अभावबीच जनकपुरधामस्थित नेपाल अपोलो अस्पताल पु¥याएका थिए । अस्पतालमा बालरोग विशेषज्ञसहितको स्वास्थ्यकर्मी टोलीले नवजातलाई एनआइसीयु भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको थियो ।

करिब एक सातासम्मको उपचारपछि शिशुको स्वास्थ्यमा सुधार आएको र सकुशल घर फर्किएको अस्पताल स्रोतले जनाएको छ । यसअघि यस्तै प्रकृतिका सात वटा नवजात मृत्युका घटना देखिसकेका डा. रायले यस घटनालाई निकै चुनौतीपूर्ण रहेको बताए । उनले नवजात शिशुलाई स्तनपान गराउने सही तरिकाबारे पनि अभिभावकलाई सचेत हुन आग्रह गरेका छन ।

Comment


Related News

Latest News

Trending News