नेपालमा क्षयरोग -टीबी) अझै पनि एक प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार क्षयरोग विश्वव्यापी रूपमा संक्रामक रोगबाट हुने मृत्युका प्रमुख कारणहरूमध्ये एक हो । नेपालले पछिल्ला वर्षहरूमा क्षयरोग नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरे पनि औषधि प्रतिरोधी क्षयरोग -ड्रग–रेजिस्टेन्ट ट्युबरकुलोसिस : डीआर(टीबी) ले स्वास्थ्य प्रणालीलाई थप चुनौती दिइरहेको छ ।
औषधि प्रतिरोधी क्षयरोग भनेको क्षयरोगको उपचारमा प्रयोग हुने फस्र्ट–लाइन एन्टी–टीबी औषधिहरूले काम नगर्ने अवस्था हो । यस्तो रोगको उपचार लामो, जटिल र खर्चिलो हुने भएकाले बिरामी, परिवार तथा स्वास्थ्य प्रणाली सबैका लागि चुनौतीपूर्ण हुन्छ । समयमै पहिचान र उपचार नभएमा यस्ता बिरामीबाट अन्य व्यक्तिहरूमा समेत औषधि प्रतिरोधी क्षयरोग सर्न सक्ने भएकाले यसलाई जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा लिइन्छ । मधेश प्रदेश नेपालमै क्षयरोगको उच्च भार भएको प्रदेश हो ।
आर्थिक वर्ष २०८१/८२ मा नेपालभर ३८ हजार ६०६ जना औषधि–संवेदनशील क्षयरोग -डीएस(टीबी) का बिरामीहरू पत्ता लागेकोमा ९ हजार ५९६ जना बिरामी मधेश प्रदेशका थिए। यो संख्या राष्ट्रिय कुल बिरामीको करिब एक चौथाइ हो । यसले मधेश प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विशेष प्रयास आवश्यक रहेको स्पष्ट देखाउँछ ।
औषधि प्रतिरोधी क्षयरोगको अवस्था झन् चिन्ताजनक छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालभर ४०० जना एमडीआर/आरआर–टीबी बिरामी उपचारमा दर्ता भएकोमा ६४ जना मधेश प्रदेशका थिए । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्सी सर्भे २०२० अनुसार मधेश प्रदेशमा वार्षिक करिब ३०६ नयाँ डीआर–टीबी बिरामी हुने अनुमान गरिएको छ । तर वास्तविकतामा तीमध्ये केवल ६४ जना मात्र पहिचान भएका छन्। यसले समुदायमा अझै पनि उल्लेखनीय संख्यामा क्षयरोगका बिरामीहरू पहिचान हुन बाँकी रहेको संकेत गर्दछ ।
डीआर–टीबी बिरामीहरूको पहिचानका लागि जीन एक्सपर्ट, कल्चर तथा ड्रग ससेप्टिबिलिटी टेस्ट र लाइन प्रोब एसेजस्ता आधुनिक प्रविधिहरू उपलब्ध छन् । तथापि यी सेवाहरूको पहुँच सबै स्थानमा समान रूपमा पुग्न सकेको छैन । भौगोलिक पहुँच, जनचेतनाको कमी, सामाजिक लाञ्छना र भेदभाव, आर्थिक अवस्था तथा स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने कठिनाइले धेरै बिरामी समयमै परीक्षण गराउन नसक्ने अवस्था देखिन्छ । मधेश प्रदेशमा डीआर–टीबी बिरामीहरूको उपचारका लागि पाँच वटा डीआर–टीबी केन्द्र स्थापना गरिएका छन् ।
साथै बिरामीहरूको पहुँच अभिवृद्धि गर्न १६ वटा सब–सेन्टर सञ्चालनमा ल्याइएको छ। यी केन्द्रहरूमा उपचार, परामर्श तथा नियमित अनुगमनको व्यवस्था गरिएको छ । तर सबै सब–सेन्टरहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा बिरामीहरूले सहज रूपमा सेवा प्राप्त गर्न सकेका छैनन् । फलस्वरूप उपचारमा निरन्तरता कायम राख्न समस्या देखिएको छ । हालै सम्पन्न आर्थिक वर्ष २०८२/८३ को कोहोर्ट विश्लेषणले थप चिन्ताजनक अवस्था उजागर गरेको छ ।
चैत मसान्तसम्म उपचारमा दर्ता भएका ६० जना डीआर–टीबी बिरामीमध्ये ५ जनामा पुनःरोग -रिल्याप्स) देखिएको छ भने ३ जना उपचारबाट छुटेका -लस टु फलो–अप) छन्। डीआर–टीबी बिरामी उपचारबाट छुट्नु भनेको व्यक्तिगत स्वास्थ्य जोखिम मात्र नभइ समुदायमा थप संक्रमण फैलिने खतरा पनि हो । यसले राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमको प्रभावकारितामाथि समेत प्रश्न उठाउँछ । यस्ता चुनौतीहरूको समाधानका लागि सक्रिय बिरामी खोजखोजपडताल कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।
उच्च जोखिम समूहमा नियमित स्क्रिनिङ, आधुनिक निदान सेवाको पहुँच विस्तार, समुदायस्तरमा स्वास्थ्य शिक्षा, बिरामी परामर्श तथा उपचार अनुगमनलाई सुदृढ बनाउनुपर्छ । साथै स्थानीय सरकार, स्वास्थ्य संस्था, विकास साझेदार तथा समुदायबीचको सहकार्यलाई अझ बलियो बनाउन आवश्यक छ । विश्वले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको वर्तमान समयमा पनि हामी क्षयरोगजस्तो रोकथाम र उपचार सम्भव भएको रोगबाट पूर्ण रूपमा मुक्त हुन सकेका छैनाँै ।
विशेषगरी औषधि प्रतिरोधी क्षयरोग नियन्त्रणका लागि समयमै पहिचान, प्रभावकारी उपचार र उपचारमा निरन्तरताको सुनिश्चितता अपरिहार्य छ । ‘स्वस्थ नेपाली, समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र सम्पूर्ण नागरिक समाजको साझा प्रतिबद्धता र सक्रिय सहभागिता आवश्यक छ । औषधि प्रतिरोधी क्षयरोग नियन्त्रण स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो ।

