२०८३ असार ३, बुधबार ११:३९

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ ।

बैठकको सह–अध्यक्षता परराष्ट्र मन्त्रालयको युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालयअन्तर्गत एसिया, ओसियानिया, ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगेसनले गर्नुभएको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय तथा विभिन्न क्षेत्रगत मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो भने डेनमार्कको प्रतिनिधिमण्डलमा नेपालका लागि डेनमार्कका गैरआवासीय राजदूत रास्मुस अबिल्डगार्ड क्रिस्टेन्सेन तथा नयाँ दिल्लीस्थित डेनमार्क दूतावासका अन्य अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

दुवै पक्षले द्विपक्षीय सम्बन्धका विविध पक्षको समीक्षा गर्दै सन् १९६७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र डेनमार्कबीच कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरेका छन् । दुवै पक्षले सन् २०२७ मा नेपाल–डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउने सहमति समेत जनाएका छन् ।

सुशासन, पारदर्शिता, दिगो विकास तथा लोकतान्त्रिक मूल्यप्रतिको साझा प्रतिबद्धताका आधारमा सहकार्य अघि बढाइनेमा दुवै पक्षले जोड दिएका छन् ।

Comment

Related News

Latest News

Trending News