२०८३ असार ४, बिहीबार ०७:१७

मधेश प्रदेशका ऐतिहासिक औद्योगिक प्रतिष्ठानहरूमध्ये जनकपुर चुरोट कारखाना लिमिटेड र वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन हुने भएको छ ।

रुसी सरकारले जचुकाली र चिनी कारखाना सञ्चालनमा चासो देखाए पछि ती कारखानाहरु पुनः खुल्ने भएको छ । काठमाण्डुको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बुधबार उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभ बीच भएको भेटवार्तामा दुवै उद्योग पुनः सञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

सो भेटघाटका क्रममा राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो देश निरन्तर सहयोगका लागि प्रतिबद्ध रहेको बताए । नेपाल सरकारले औपचारिक अनुरोधसहित आवश्यक सूची उपलब्ध गराएमा वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखानालगायत औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालनयोग्य बनाउन रुसी पक्ष तयार रहेको उनले स्पष्ट पारे । उनले रुस नेपाललाई जलविद्युत, कृषि, स्वास्थ्य तथा भौतिक पूर्वाधारका क्षेत्रमा समेत सहयोग गर्न इच्छुक रहेको धारणा व्यक्त गरेका छन् ।

उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र रुसी महासंघबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध कायम रहेको उल्लेख गरे । यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्ष पूरा हुन लागेको सन्दर्भमा उनले पारस्परिक सम्मान, समझदारी र मित्रतामा आधारित सम्बन्धलाई नेपालले गर्वका साथ स्मरण गरिरहेको बताए । ‘पछिल्लो समयमा दुई राष्ट्रबीच बढ्दो सांस्कृतिक तथा जनस्तरको आदानप्रदानप्रति नेपालले प्रसन्नता व्यक्त गर्दछ । आगामी दिनहरूमा नेपाल–रुस द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिँदै हाम्रो सम्बन्ध अझ सुदृढ हुने विश्वास लिएको छु,’ उपराष्ट्रपति यादवले भने ।

भेटका क्रममा उपराष्ट्रपति यादवले रुसी महासंघको राष्ट्रिय दिवसको अवसरमा मैत्रीपूर्ण रुसी जनताको सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए । दुवै कम्पनी रुस सरकारकै लगानीमा संचालन भएको थियो । उनले पछिल्लो समय दुई देशबीच बढ्दो सांस्कृतिक तथा जनस्तरीय आदानप्रदानप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा नेपाल–रुस सम्बन्धले नयाँ आयाम प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

यसका साथै, रुसी महासंघको राष्ट्रिय दिवसका अवसरमा रुसी जनताको सुख, शान्ति र समृद्धिका लागि शुभकामना समेत दिए ।

जनकपुर चुरोट कारखानाको इतिहास

जनकपुर चुरोट कारखाना लिमिटेड तत्कालीन सोभियत संघ रुस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना गरिएको थियो । देशमा प्रजातन्त्र बहालीपछि कांग्रेस नेता बीपी कोइराला को अवधारणाअनुसार उद्योग स्थापनाको प्रक्रिया अघि बढाइएको थियो। विसं २०१९ मंसिर ८ गते तत्कालीन उद्योग तथा वाणिज्यमन्त्री वेदानन्द झाले निर्माण कार्यको शिलान्यास गरेका थिए । जनकपुरधाम उपमहानगरपालिका–९ मा करिब ३३ बिघा ९ कट्ठा क्षेत्रफलमा फैलिएको यो कारखाना एक समय देशकै प्रमुख औद्योगिक प्रतिष्ठानमध्ये पर्दथ्यो । ‘देउराली’, ‘याक’ र ‘गैँडा’ ब्रान्डका चुरोट उत्पादन गर्ने यस कारखानाले दैनिक करिब दुई अर्ब खिल्ली चुरोट उत्पादन गर्ने क्षमता राख्थ्यो, जुन पछि बढाइएको थियो ।

कारखानामा स्थायी, करार तथा ज्यालादारी गरी करिब २,९०० कर्मचारी कार्यरत थिए । पूर्व– पश्चिम राजमार्ग निर्माणअघि उत्पादनहरू रेलमार्फत भारतको जयनगर–रक्सौल मार्ग हुँदै नेपालका विभिन्न बजारसम्म पु¥याइन्थ्यो । पछि आफ्नै कन्टेनरमार्फत देशभर ढुवानी गरिन्थ्यो । एक समय नेपाली अर्थतन्त्र र स्थानीय जनजीवनसंग गहिरो सम्बन्ध रहेको यो उद्योग २०६८ चैतदेखि उत्पादन बन्द अवस्थामा पुग्यो । अन्ततः विसं २०७० असार २० गते तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले कर्मचारीलाई अवकाश दिने निर्णय गरेपछि उद्योग पूर्ण रूपमा बन्द भयो ।

वीरगञ्ज चिनी कारखानाको अवस्था

वीरगञ्ज चिनी कारखाना विसं २०२१ सालमा रुसी सहयोगमा स्थापना गरिएको थियो । दैनिक १,५०० टन उखु पेल्ने क्षमता रहेको यो उद्योग २०६१ सालदेखि बन्द छ । सरकारी अध्ययनअनुसार उद्योग पुनः सञ्चालनका लागि केही मेसिनको मर्मत तथा केही नयाँ उपकरण जडान आवश्यक छ । अधिकांश कर्मचारीले स्वेच्छिक अवकाश लिइसकेका भए पनि केही कर्मचारीका मुद्दा अझै अदालतमा विचाराधीन रहेको बताइएको छ । सरकारले उद्योग पुनः सञ्चालनअघि कर्मचारी व्यवस्थापनलगायत सबै पक्षलाई ध्यानमा राख्दै निजी क्षेत्रबाट सञ्चालन प्रस्ताव आह्वान गर्ने तयारी गरिरहेको छ । यसअघि निजीकरण ऐन, २०५० अनुसार खारेजीको निर्णय गरिएको यो उद्योग पुनः सञ्चालनमा आए रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Comment


Related News

Latest News

Trending News