सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस वर्ष निर्धारित मिति कटिसक्दा पनि प्रवेश गर्न सकेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित मौसमीय प्रणाली, पश्चिमी वायुको प्रभाव तथा एल–निनोको बढ्दो प्रभावका कारण मनसुन आगमन केही दिन ढिलो हुने सम्भावना रहेको छ ।
विभागका प्रवक्ता विभूति पोखरेलले एल– निनो अझ बलियो बन्दै गएकाले नेपालको मनसुन कमजोर हुन सक्ने र आगमनमा थप ढिलाइ हुन सक्ने बताउनुभयो। एल–निनोको प्रभावका कारण विगतमा पनि नेपालमा मनसुन ढिलो भित्रिएको उदाहरण छन् । विभागको तथ्याङ्कअनुसार सन् १९७२ मा जुन १८, १९८२ मा जुन २७, १९८३ मा जुन २४, १९९२ मा जुन २१, २००९ मा जुन २३ तथा २०१९ मा जुन २० मा मात्रै मनसुन नेपाल भित्रिएको थियो। विभागले यस वर्षको मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।
मनसुन ढिलो हुँदा कृषि क्षेत्रमा प्रत्यक्ष असर पर्ने चिन्ता व्यक्त गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ लालकुमार श्रेष्ठका अनुसार नेपालमा पर्याप्त सिँचाइ सुविधा नहुँदा अधिकांश किसान आकाशे पानीमा निर्भर छन् । वर्षा ढिलो वा कम हुँदा धान रोपाइँ प्रभावित हुने र उत्पादन घट्न सक्ने जोखिम बढ्छ। बदलिँदो जलवायुका कारण मौसम अनुकूल खेती प्रणाली अपनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । विभागले यस वर्ष अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने तथा तापक्रम बढ्ने प्रक्षेपण गरेको छ ।
कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका अधिकांश क्षेत्र, मधेसका पूर्वी भूभाग तथा कोशीका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । देशका अधिकांश क्षेत्रमा अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा माथि रहने अनुमान गरिएको छ । हावापानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीका अनुसार नेपालको वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुन अवधिमै हुने भएकाले यो सबैभन्दा संवेदनशील मौसम प्रणाली हो ।
नेपालमा सामान्यतया जेठ १८ देखि असोज १४ सम्म मनसुन अवधि रहने गर्दछ । विभागले विश्व तथा क्षेत्रीय जलवायु केन्द्रहरूको तथ्याङ्क र अन्तर्राष्ट्रिय जलवायु मोडेलको विश्लेषणका आधारमा ऋतुगत आँकलन तयार गरेको जनाएको छ । कम वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विज्ञहरूले किसानलाई खडेरी सहन सक्ने धानका जात छनोट गर्न सुझाव दिएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जारी गरेको कृषि– मौसम सल्लाह बुलेटिनमा सुक्खा धान–१ देखि सुक्खा धान–६ सम्मका जात प्रयोग गर्न सिफारिस गरिएको छ । साथै वर्षाको पानी सङ्कलन, पोखरी तथा जलाशयमा पानी सञ्चित गर्ने, जलवायुमैत्री तथा पानी बचत गर्ने कृषि प्रविधि अपनाउने सुझाव पनि दिइएको छ । सघन धानखेती (एसआरआई), वैकल्पिक भिजाउने–सुकाउने (एडब्लुडी) तथा सुक्खा–हिले छरुवा धान खेतीजस्ता प्रविधिले कम पानीमा पनि उत्पादन कायम राख्न सहयोग पु¥याउने उल्लेख गरिएको छ ।
मौसमविद् सुदर्शन हुमागाईंका अनुसार एल–निनो साउदर्न ओस्सिलेसन -इएनएसओ), इन्डियन ओसन डाइपोल -आइओडी), हिमपात तथा अन्तरऋतु परिवर्तनशीलताजस्ता कारकले यस वर्ष मनसुन कमजोर हुन सक्ने संकेत दिएका छन् । हाल इएनएसओ र आइओडी तटस्थ अवस्थामा भए पनि एल–निनोतर्फ उन्मुख अवस्था देखिएको छ । विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले पनि बलियो एल–निनो विकसित हुने सम्भावना रहेको जनाएको छ ।
यसका कारण विश्वका अधिकांश भूभागमा औसतभन्दा बढी तापक्रम र दक्षिण एसियामा औसतभन्दा कम वर्षा हुन सक्ने अनुमान गरिएको छ । एल–निनो भनेको प्रशान्त महासागरको मध्य तथा पूर्वी भूमध्यरेखीय क्षेत्रमा समुद्री सतहको तापक्रम असामान्य रूपमा बढ्ने प्राकृतिक जलवायु अवस्था हो, जसले वर्षा, तापक्रम र मनसुनी प्रणालीमा व्यापक प्रभाव पार्न सक्छ । गत वर्ष नेपालमा मनसुन सरदर मितिभन्दा १५ दिन अगाडि, मे २९ मा भित्रिएको थियो । तर रोपाइँको समयमा पर्याप्त वर्षा नहुँदा विशेषगरी मधेस प्रदेश खडेरीबाट प्रभावित भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार खडेरीका कारण धान खेती क्षेत्रफल र उत्पादन दुवै घटेका छन् ।
चालु आर्थिक वर्षमा धान उत्पादन अघिल्लो वर्षको तुलनामा करिब ४.२ प्रतिशतले घटेर ५७ लाख मेट्रिकटनमा सीमित हुने अनुमान गरिएको छ । विज्ञहरूले सम्भावित खडेरी र कम वर्षाको जोखिमलाई ध्यानमा राखी कृषि, जलस्रोत व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणका लागि समयमै तयारी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

