२०८३ असार ५, शुक्रबार ०७:१५

पालिका, प्रदेश तथा संघीय सरकारले सर्लाही जिल्लामा करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरेका दर्जनौँ व्यापारिक तथा अन्य प्रयोजनका भवन प्रयोगविहीन अवस्थामा पुगेको छ ।

२०८१ फागुन १२ गते तत्कालीन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जिल्लाको प्रमुख बजार लालबन्दी नगरपालिका–७ स्थित साझा संस्थाको प्रांगणमा उद्घाटन गरेको ती बहुउद्देश्यीय भवन अझैसम्म प्रयोगमा आउन सकेको छैन । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनुषाले करिब ४ करोड ४१ लाख रुपैयाँ लागतमा निर्माण गरेको उक्त भवन प्रयोगमा ल्याउने विषयमा कुनै निकायले पहल नगरेको बताइएको छ ।

भवनको भुइँतलामा १७ वटा व्यापारिक सटर, पहिलो तलामा तीन वटा च्याम्बर कोठा तथा तेस्रो तलामा एक च्याम्बरसहित हल र शौचालयको सुविधा रहेको छ । लामो समयदेखि प्रयोगमा नआएका ती भवन कतै तोडफोड हुने अवस्थामा छन् भने कतै जीर्ण बन्दै गएको स्थानीयवासीले गुनासो गरेका छन् । लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार कार्कीले साझा संस्था र नगरपालिकाबीच भवन प्रयोगका विषयमा सहमति नजुटेकाले सञ्चालनमा समस्या आएको बताएका छन ।

उनले भने, ‘भवन बनेको जग्गा साझा संस्थाको भएकाले नगरपालिकाले प्रयोगसम्बन्धी निर्णय गर्न सकेको छैन ।’ उनले भवन जुन उद्देश्यका लागि निर्माण गरिएको हो, सोहीअनुसार प्रयोगमा ल्याउन नसकिएको स्वीकार गरे । यस्तै, लालबन्दी नगरपालिकाका वडा नं. ४, ७, ८ र १० लगायत स्थानमा निर्माण गरिएका अन्य व्यापारिक भवनहरू पनि प्रयोगविहीन रहेका छन् ।

नगर विकास कोषको ऋण सहयोगमा लालबन्दी नगरपालिका–७ डुमडुमेमा निर्माण गरिएको व्यापारिक कम्प्लेक्स पनि लामो समयदेखि अलपत्र अवस्थामा छ । करिब ६ करोड ४१ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको उक्त भवन भाडामा लगाउन नगरपालिकाले पटक– पटक सूचना जारी गर्दै आएको छ ।

यता हरिवन नगरपालिकामा पनि करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरिएका व्यापारिक भवन प्रयोगमा आउन सकेका छैनन् । हरिवन नगरपालिका–११ बजार क्षेत्रमा निर्माण गरिएका आठ वटा भवनमा १४६ वटा सटर रहेका छन् । उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेले भवनमा पानी, बिजुली र शौचालयजस्ता आधारभूत पूर्वाधारको अभावले व्यापारी बस्न नसकेको बताए ।

सर्लाहीका हरिपुर, ईश्वरपुर, बरहथवा, मलंगवा लगायतका पालिकामा समेत यस्तै प्रकृतिका भवनहरू प्रयोगविहीन अवस्थामा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News