रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ५४ हजार रुपैयाँभन्दा बढी नगद समेत बरामद भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डीएसपी रुपा लाबुङलाई प्राप्त गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ डावरी क्षेत्रमा चेकजाँच गर्ने क्रममा चन्द्रपुर–६ निवासी २६ वर्षीय निराश कुमार सापकोटालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार सापकोटाको शरीर तथा उनले बोकेको पर्स खानतलासी गर्दा कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ०।०८० ग्राम ब्राउन सुगर फेला परेको थियो। साथै उनको साथबाट ३२ हजार २९० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त लागुऔषध सापकोटालाई बिक्री गरेको आशंकामा चन्द्रपुर–६ शान्तिनगर टोलका ३० वर्षीय विकास न्यौपानेलाई समेत पक्राउ गरिएको छ। न्यौपानेको साथबाट २२ हजार ३९० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको तथा उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी गौतमले जानकारी दिए।


