२०८३ असार ६, शनिबार ०७:३४

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरामावि) हरपुरमा दुई महिनादेखि दिवा खाजा कार्यक्रम ठप्प रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष र प्रधानाध्यापकबीचको विवादका कारण दिवा खाजा कार्यक्रम प्रभावित भएको हो । त्यसको प्रत्यक्ष असर सयौं विद्यार्थीको पढाइ र उपस्थितिमा परेको छ । विद्यालयमा वैशाख महिनादेखि दिवा खाजा वितरण बन्द भएपछि बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरू नियमित रूपमा विद्यालय आउन छाडेका छन् ।

बिहान ६ बजेदेखि ११ बजेसम्म कक्षा सञ्चालन हुने विद्यालयमा खाजा नपाएपछि कतिपय विद्यार्थी मध्याह्नअघि नै घर फर्किने र पुनः कक्षामा नआउने गरेको शिक्षकहरू बताउँछन् । हाल विद्यालयमा ६३५ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये बालविकासदेखि कक्षा ५ सम्मका ४०१ जना विद्यार्थीका लागि सरकारले प्रतिविद्यार्थी दैनिक २० रुपैयाँका दरले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उपमहानगरपालिकाले यस वर्षको बजेटसमेत निकासा गरिसकेको भए पनि विद्यालयभित्रको विवादका कारण कार्यक्रम सञ्चालन हुन सकेको छैन । शिक्षिका निरु पुनका अनुसार खाजा कार्यक्रम बन्द भएपछि विद्यार्थीको उपस्थितिमा उल्लेख्य गिरावट आएको छ । गर्मीका कारण भोकै विद्यालय आउने केही विद्यार्थीलाई चक्कर लाग्ने र बेहोस हुने अवस्था समेत देखिएको उनले बताइन् ।

अर्का शिक्षक कृष्णकुमार दासले पनि दिवा खाजा बन्द भएपछि कक्षाकोठामा विद्यार्थी संख्या उल्लेखनीय रूपमा घटेको बताए । विशेष गरी विपन्न, दलित तथा मजदुर परिवारका बालबालिकालाई यसले बढी असर गरेको उनको भनाइ छ । प्रधानाध्यापक रामनरेश यादवले विद्यालयमा अनुकूल वातावरण नबनेका कारण खाजा कार्यक्रम सञ्चालन गर्न नसकिएको दाबी गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिको बैठकमा पटक पटक जानकारी गराउँदा पनि वडाध्यक्षको सहयोग नपाएको उनको आरोप छ । वातावरण सहज बनेपछि तत्काल कार्यक्रम पुनः सञ्चालन गरिने उनले बताए । उता, वडा नं. २४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुल्तान अन्सारीले भने खाजा कार्यक्रम रोक्नु प्रधानाध्यापकको नियोजित कदम भएको आरोप लगाएका छन् ।

आफूले पटक पटक खाजा वितरण गर्न आग्रह गर्दा पनि प्रधानाध्यापकले बेवास्ता गरेको उनको भनाई छ । विवाद चुलिँदै जाँदा विद्यालयको समग्र शैक्षिक अवस्था पनि प्रभावित भएको देखिएको छ । स्थलगत अवलोकनका क्रममा कतिपय विद्यार्थीले उपमहानगरपालिकाले वितरण गर्ने निःशुल्क पोशाकसमेत नपाएको गुनासो गरिएको छ ।

जीतपुर सिमरा उपमहानगर शिक्षा महाशाखाले भने वडाध्यक्ष र प्रधानाध्यापकबीचको टकरावका कारण विद्यालय समस्याग्रस्त बनेको निष्कर्ष निकाल्दै विद्यालयको नेतृत्व परिवर्तन गरेर समस्या समाधानतर्फ अघि बढेका छन ।

Comment


Related News