२०८३ असार ६, शनिबार ०७:४२

बितेको असार ४ गते बिहीबार अपरान्ह १.२४ वजे म आफ्नो फेसबुक सञ्जालमा एउटा अनुहार नदेखिएका बाबुको फोटो सार्वजनिक गर्दै लेखेको थिएँ– ‘हेलो…तीनै तहका सरकार….. ‘ धुँवाले अनुहार ढाकेका बालक हाम्रै हुन्…..गलि गलिमा हजारौँ यस्ता बालकहरु धुँवा उडाएर खरानी बन्दै छन् । हजुर हरुका बालबालिका देश विदेशका ठूलठूला विद्यालयमा होलान् ।

यस्ता बालकहरु आँपका बगैँचा, पोखरीका डिल अनि गलि चौपालमा बसेर यसैगरि धुँवा उडाउँदै छन् । संघीय बजेट हेरे,प्रदेशको बजेट हेरे …..यी र यस्ता बाबु नानीका लागि खासै केही छैन । श्रीमान् सडक सुनकै बनाउनु भयो भन्ने चल्ने/ चलाउने होसमा भएन भने दुर्घटना अवसम्भावी छ ।

यी बाबु नानीहरुको पढ्ने अनि बाँच्ने अधिकार सुनिश्चित गर्नुहोस् । लागुपदार्थको आवागमन बन्द गराउनु होस् । किसानले ल्याएको फर्सीको बीउ र रासायनिक मल समात्न सक्ने जाँवाज सुरक्षाकर्मीहरु लागुपदार्थ किन समात्न सकिरहेका छैनन् ? नोट : तस्बीर सामाजिक सञ्जाफबाट लिएको छु । अनुहार न देखिएकाले पोष्ट गर्ने साहस गरेको छु ।

धन्यवाद मैले सार्वजनिक गरेको माथिको पोष्ट २४ घन्टाभित्र ५ हजार जनाले देखिसकेका थिए । १९ जनाले लाइक गरेका थिए, ६ जनाले शेयर तथा ३ जनाले कमेन्ट पनि गरेका थिए । मैले लेखेको सानो कन्टेन्टको ५ हजार भ्यूज हुनु भनेको किशोर र युवाहरु लागुपदार्थको फन्दामा पर्नु ठूलो समस्या हो भने देखाउँछ । शेयर हेर्दा समस्या हो भन्ने देखाउँछ, तर कमेन्ट हेर्दा समस्या भए पनि हामीलाई के मतलब ?

मेरा छोराछोरी त ठिकठाक छन् भन्ने सन्देश दिन्छ । दुई साता अघि, आसमान नेपालको बालबालिका लक्षित एउटा कार्यक्रममा सहभागी हुन विदेह नगरपालिकास्थित तिनकौरिया गएको थिएँ । तिनकौरिया बाजारमा विदेह नपा– ५ का वडाध्यक्ष तथा त्यहाँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेकृष्ण गोइत यादवसंग भेट भएको थियो । मैले उहाँसंग सोधेको थिएँ– …आसमान नेपालसंग तपाईको के अपेक्षा छ ?

उहाँको जवाफ थियो– ‘आसमान नेपालले विद्यालयहरुको भौतिक संरचना तथा शिक्षाको गुणस्तर उकास्न धेरै सहयोग गरेको छ । अब लागुपदार्थको दुव्र्यसनमा फस्न थालेका बालबालिकाका लागि केही गर्नु पर्दछ ।’ विदेह, जनकनन्दनी, सबैला, मिथिला बिहारी मात्र होइन सिरहा र सप्तरीसम्मका अभिभावक तथा जनप्रतिनिधिहरुको आसमानसंग यही अपेक्षा थियो– ‘बालबालिकाहरुलाई लागुपदार्थ दुव्र्यसनबाट जोगाउने खालका परियोजना ल्याउनु होस् ।’ पालिकास्तरबाट यस विषयलाई प्राथमिकता नदिइएको गुनासो पनि उनिहरुको थियो । कक्षा ४ अर्थात् ९–१० वर्षको उमेर देखि नै केहि बालक लागुपदार्थ सेवन गर्न थाल्छन् ।

सामान्यतया सिगरेटबाट शुरु हुने यो मृत्यु यात्रा उमेरसंगै क्रमशः गाँजा, रक्सी, नारकोटिक औषधि तथा इन्जेक्शनसम्म पुग्छ । हुने खाने परिवारका वा लागू पदार्थ अम्लीहरुले मोबाइल, पानीको मोटर, खसी बाख्रा, मोटरसायकल आदि चोरी गरेर कमाएको पैसाबाट कोही कोही हिरोइन, ब्राउन सुगर जस्ता लागु कडा र महँगा लागुपदार्थहरु पनि सेवन गर्न थाल्छन् । शहरी क्षेत्रमा फाटफुट देखिएका लागू पदार्थका अम्लीहरु अचेल ग्रामिण इलाकासम्म फैलिइसकेका छन् ।

चोरी, डकैती, लूट–पाट, मोटरसाइकल दुर्घटना, झैँझगडा, आत्म हत्या र हत्यासम्मका वारदात हुन थालेका छन् । २०८१ कार्तिक ९ गते बिहान ७ वजे जनकपुरधाम वडा नम्बर– २३ बसबिट्टी स्थित राधाकृष्ण मन्दिरदेखि वेला रोडतर्फ जाने सडक छेउको फेकन मुखियाको धान खेतमा जनकपुरधाम उपमहानगरपालिका २४ का फुलगेन महरा चमारका छोरा २४ वर्षीय रुपेश महराको शव फेला परेको थियो ।

एक दिनअघि दिवाली र छठ मान्न भारतबाट फर्केका रुपेशको हत्या उनका आफ्नै साथीले गरेका थिए । संगै मादक पदार्थसेवन गरेका तीन जनामध्ये दुई जनाले मोवाईलमा गीत सुन्ने विवादको कारण आफ्नै एकजना मिल्ने साथीलाई हत्या गर्नु पक्कै पनि सामाजिक चिन्ता र चासोको विषय थियो ।

लागुपदार्थका अम्लीहरु दिनानुदिन बढदै जानु, यसकारणले चोरी, डकैती तथा हत्या, आत्म हत्याजस्ता घटनाहरु घट्नु अनि समाज र तीनै तहका सरकार यस बिकराल समस्याप्रति उदासीन रहनु आफैमा चिन्ताको विषय हो । दुव्र्यशनमा फस्न लागेका वा फसि सकेकाहरुलाई रोक्न वा सही बाटोमा ल्याउन तीनै तहको सरकारको भूमिका अनिवार्य छ । मधेश प्रदेशको आर्थिक वर्ष २०८३–०८४ को बजेट सार्वजनिक गरेको छ ।

बजेटका ४ उद्देश्यमध्ये ‘मानव विकास र सामाजिक न्यायÚ शीर्षकमा शिक्षा, स्वास्थ्य र पोषणको गुणस्तर सुधार गर्दै सीमान्तीकृत र विपन्न वर्गलाई सामाजिक न्यायसहितको राज्यको प्रतिफल सुनिश्चित गर्ने उल्लेख छ । यसका साथै ‘अप्पन बच्चाके स्कूल पठाउ । साक्षरताके दीप जडाउ ।Ú जस्ता कर्णप्रिय नारा दिदै बिचमै विद्यालय छाड्ने (ड्रप आउट), दिवा खाजा, शिक्षक दरबन्दी, विपन्न र पिछडिएका वर्गका विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा छात्रवृति लगायतका क्षेत्रमा २ अर्ब ९० करोड बजेट विनियोजन गरेको छ ।

बजेटले लागू पदार्थको दुव्र्यशनमा परेका हजारौं बालबालिकाको पढन पाउँने र बाँच्न पाउँने अधिकार बारे एक शब्द बोलेको छैन । सबैलाई थाहा छ, नारकोटिक औषधिहरु भारतबाट आपूर्ति हुन्छ र गाँजा र रक्सी नेपालबाट भारत जान्छ । वर्षौदेखि यो क्रम चल्दै आएको छ । भारतीय सीमामा भारतीय अर्धसैनिक बल एस.एस.बी. तथा नेपालको सीमामा सशस्त्र प्रहरी बलसंगै जनपथ प्रहरी तैनाथ छन् । मलाई अचम्म लाग्छ– किसानले ल्याएको एक बोडा रासायणिक मल, फर्सीको विउ समात्न सक्ने हाम्रा सुरक्षाकर्मीहरु नेपालमा खुल्लम खुल्ला बिक्री हुने नारकोटिक औषधी र गाँजा किन पक्राउ गर्न सकि रहेका छैनन् ?

Comment


Related News

Latest News

Trending News