जनकपुरधामस्थित रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य आगामी आर्थिक वर्षदेखि सुरु गरिने भएको छ ।
मधेश खेलकुद परिषद्को आयोजनामा शनिबार जनकपुरधाममा सुरु भएको नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकार रंगशाला निर्माणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिए । उनले रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्षमा २ सय ५६ करोड रुपैयाँ लागत अनुमान गरिएको र निर्माण प्रक्रिया सुरु गरिने बताए ।
मुख्यमन्त्री यादवले खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले विशेष योजना ल्याएको उल्लेख गर्दै क्रिकेटसहित अन्य खेलहरूको प्रवद्र्धनमा पनि बजेट विनियोजन गरिने बताए । उनले प्रदेशका आठवटै जिल्लामा रहेका खेलमैदानहरूको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि सरकार प्रतिबद्ध रहेको धारणा राखे ।
कार्यक्रममा मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी यादवले खेलकुदलाई युवासँग जोड्दै व्यावसायिक बनाउने लक्ष्यका साथ परिषद् काम गरिरहेको बताए । खेलकुद क्षेत्रको विकासले प्रदेशको समग्र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले मधेशलाई खेलकुदमय प्रदेश बनाउने अभियानलाई तीव्रता दिइने बताए ।
शनिबारदेखि सुरु भएको नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका टोली तथा नेपाल एपीएफ क्लब गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरू जनकपुरधाम र वीरगञ्जमा सञ्चालन हुनेछन् भने फाइनल खेल वीरगञ्जमा आयोजना गरिने आयोजकले जनाएको छ ।

