नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रास्वपाको सफलता र राजनीतिक स्थिरताका लागि कांग्रेस सधैँ सकारात्मक रहने बताउनुभएको छ ।
रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता थापाले विगतमा ठूला पार्टीहरू सम्हालिन नसक्दा र दुर्घटनामा पर्दा लोकतन्त्र, प्रणाली र जनताले ठूलो मूल्य चुकाउनुपरेको बताउनुभयो । उहाँले रास्वपाले प्राप्त गरेको जनमत स्थिरताका तर्फ अघि बढोस् भन्दै कांग्रेस रास्वपाको प्रतिस्पर्धी मात्र भएको तर दुश्मन नभएको स्पष्ट पार्नुभयो । थापाले प्रतिपक्षमा रहेर कांग्रेसले जहाँ प्रश्न उठाउनुपर्ने हो त्यहाँ औँला ठड्याउने र राम्रो काममा थपडी बजाउने नीति लिएको बताउनुभयो। रास्वपाले सुशासनलाई मन्त्र बनाएकोमा खुसी व्यक्त गर्दै उहाँले आफ्नै दलभित्र पनि नेताहरूलाई भगवान् वा ‘बा’ बनाएर गल्ती नगर्न र निरन्तर प्रश्न गरिरहन कार्यकर्ताहरूलाई सुझाव दिनुभयो ।
यस्तै, उहाँले विगत ३५ वर्षमा केही पनि भएन भनेर इतिहासलाई पूरै इन्कार नगर्न आग्रह गर्दै लोकतान्त्रिक आन्दोलनका बलिदानहरूलाई बिर्सन नमिल्ने उल्लेख गर्नुभयो ।
सभापति थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै मुख्य दुश्मन भएको भन्दै ती विरुद्धको लडाइँ र डेलिभरीमा कांग्रेस सँगै उभिने तर विधि मिचिएमा प्रश्न गरिरहने धारणा राख्नुभयो।

