धनुषाका युवाहरु आफ्नो गाउँ समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनतर्फ सक्रिय छन् । वैदेशिक रोजगारमा रहेका युवाहरुको एक समूहले गरिब, बिपन्न, असहाय रहेका परिवारको जोविकोपार्जनदेखि स्वास्थ उपचार, शिक्षा, रोजगार, दुर्व्यसनी तथा कुलतमा फसेका युवाहरुलाई समेत विभिन्न माध्यमबाट जोगाइ गाउँ समाज बिकासतर्फ डोर्याउनका लागि यहाँका स्थानीय युवा समेत गम्भीर देखिएका छन् ।
यसैक्रममा धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ स्थित युवा समाज सुधार अभियान कटरैतले एक गरिब परिवारलाई आर्थिक अभावका कारण स्वास्थ्य उपचारमा समस्या भइरहेको देखे पछि आज एक कार्यक्रम आयोजना गरि वैदेशिक रोजगारदाताले बिदेशबाटै आर्थिक रकम संकलन गरि दिइएको करिब ७२ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
स्थानीय गणेश यादवकी श्रीमती गीता देवीलाई आर्थिक अभावकै कारण राम्रो ठाउमा उपचार गराउन कठिनाइ भइरहेको बेला मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष सुकेश्वर कुमार यादव, नेपाली काङ्ग्रेस धनुषा मिथिला बिहारी नगरका वडा अध्यक्ष परमेश्वर यादव र सुनील कुमार यादवले संयुक्तरुपमा ७२ हजार रुपैयाँ पीडित गणेश यादवलाई हस्तान्तरण गरे ।
सो रकम प्राप्त गरेपछि पीडित गणेश यादवले खुसी व्यक्त गर्दै भोलि नै उपचारका लागि राम्रो अस्पतालमा लग्ने बताए । उनकी श्रीमती गीता देवीलाई पेट दुख्ने र फुल्ने रोग लामो समय देखि छ । उनको पेटमा गम्भीर समस्या रहेका छ ।
सुरज यादव र जितु यादवको पहलमा युवा समाज सुधार अभियान गठन गरी सहयोग तथा सुधार अभियान थालिएको स्थानीय जितेन्द्र यादवले जानकारी दिए ।

