नेपाल–भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित मिथिलाको भूमि जनकपुरधामलाई भगवान् रामको जन्मभूमि अयोध्यासंग जोड्ने रेल सेवा सञ्चालन गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको छ ।
करिब एक साता अघि दुबै देशका उच्च अधिकारीहरूबीच भएको सहमतिपछि जनकपुरधाम–जयनगर–अयोध्या रेल सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । अहिले नेपाल रेलले जनकपुरधाम र भारतको जयनगरबीच नियमित रेल सेवा सञ्चालन गर्दै आएको छ । अब यही रेल मार्गलाई विस्तार गर्दै सिधै भारतको उत्तर प्रदेशस्थित अयोध्यासम्म पु¥याउने योजना बनेको छ ।
यस कदमलाई नेपाल–भारत सम्बन्धको नयाँ अध्यायका रूपमा हेरिएको छ । नेपाल– भारतबीचको सम्बन्ध केवल भौगोलिक सीमामा सीमित छैन । प्राचीन मिथिला र अवध क्षेत्रबीच धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्ध निकै गहिरो छ । जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मभूमि रहेकाले यी दुई क्षेत्रबीचको सम्बन्ध धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनमा आएपछि तीर्थयात्री, पर्यटक, व्यापारी तथा सर्वसाधारण नागरिकलाई सहज यात्रा सुविधा उपलब्ध हुनेछ । यसका साथै दुबै देशबीचको परम्परागत ‘बेटी–रोटी’ सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ ।
करिब एक साता अघि काठमाण्डुमा नेपाल र भारतका उच्च सरकारी अधिकारीबीच सम्पन्न बैठकबाट जनकपुरधामदेखि अयोध्यासम्म सिधा रेल सेवा सञ्चालन गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । सो बैठकमा दुवै पक्षले रेल सेवा विस्तारका लागि सकारात्मक सहमति भएको बताइएको छ । उक्त बैठकपछि जनकपुरधाम–जयनगर– अयोध्या रेल सेवा छिट्टै सञ्चालन गर्ने विषयमा स्पष्ट मार्गनिर्देशन तयार गरिएको बताइन्छ । स्रोतका अनुसार रेल सेवाको औपचारिक उद्घाटन नेपाल र भारतका उच्च राजनीतिक नेतृत्व वा विशिष्ट व्यक्तित्वको उपस्थितिमा हुन सक्ने सम्भावना रहेको छ ।
सैद्धान्तिक सहमति भइसकेपछि रेल सञ्चालनसंग सम्बन्धित विभिन्न प्राविधिक तथा प्रशासनिक विषयहरूमा विस्तृत छलफल गरिनेछ । आगामी चरणमा निम्न विषयहरूलाई अन्तिम रूप दिइने बताइएको छ । स्रोतले जनाए अनुसार रेलको नियमित सञ्चालन प्रक्रिया र समय तालिका निर्धारण, नेपाल र भारतबीच राजस्व बाँडफाँटको व्यवस्था, मार्गमा पर्ने प्रमुख रेल स्टेशनहरूको चयन तथा ठहराव बिन्दु निर्धारण, यात्रु व्यवस्थापन र सेवा सञ्चालनको ढाँचा, सीमा क्षेत्रमा आवश्यक समन्वय संयन्त्र निर्माण एवं सुरक्षा व्यवस्थाको खाका तयारबारे विस्तृत अन्तिम छलफल हुनेछ । रेल सेवा सञ्चालनसँगै यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न दुवै देशले विशेष सुरक्षा योजना पनि तयार गरेका छन्।
प्रस्तावित व्यवस्थाअनुसार नेपाली भूभागभित्र रेल तथा यात्रुहरूको सुरक्षा जिम्मेवारी नेपालका सुरक्षा निकायले वहन गर्नेछन् भने भारतीय सीमामा प्रवेश गरेपछि भारतीय सुरक्षा निकायले सुरक्षा व्यवस्था सम्हाल्नेछन् । यसले अन्तरदेशीय रेल यात्रालाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ । नेपाल रेल्वेका महाप्रबन्धक परिवेश पराजुलीले जनाए अनुसार परियोजनालाई अगाडि बढाउन दुबै देशका अधिकारीहरूबीच सकारात्मक वातावरणमा छलफल सम्पन्न भएको छ ।
उनले रेल सेवा सञ्चालनका क्रममा देखिएका प्राविधिक तथा व्यवस्थापकीय पक्षहरू छिट्टै समाधान गरिने र निकट भविष्यमै जनकपुर– जयनगर–अयोध्या रेल सेवा सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए । रेल सेवा सञ्चालनमा आएपछि नेपाल– भारतबीच धार्मिक पर्यटनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।
जनकपुरधाम, अयोध्या, वाराणसी, गयालगायतका धार्मिक स्थलहरूमा आवागमन सहज हुने भएकाले तीर्थयात्रीहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । त्यस्तै सीमावर्ती क्षेत्रहरूमा व्यापार, होटल व्यवसाय, यातायात तथा अन्य सेवा क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने छ । प्राचीन मिथिलादेखि अवधसम्म सिधा रेल सेवा सञ्चालन हुने समाचारले नेपाल र भारतका नागरिकमा उत्साह थपिएको छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप उचाइमा पु¥याउने यस ऐतिहासिक रेल परियोजनाको कार्यान्वयनलाई दुबै देशका नागरिकले चासोका साथ प्रतीक्षा गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले समेत जनाएको छ ।
जनकपुरधाम र अयोध्यालाई रेलमार्फत प्रत्यक्ष जोड्ने योजना सफल भएमा नेपाल– भारत सम्बन्धको इतिहासमा अर्को महत्वपूर्ण कोशेढुंगाका रूपमा स्थापित हुने छ ।

