चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिनको बन्द सत्र सञ्चालन हुँदैछ।
आइतबार देखि सुरु भएको महाधिवेशन ९ गतेसम्म चल्नेछ। पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम तय भएका छन्।
प्रकाशित कार्यतालिकाअनुसार बिहान ७ बजे खाजाको समय छुट्याइएको छ। त्यसपछि बिहान ८:३० बजे पार्टी सभापति रवि लामिछानेले दोस्रो सत्र प्रारम्भ गर्नेछन्। सत्र सुरु भएलगत्तै ८:३० देखि ८:५० सम्म अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुने कार्यक्रम छ। बिहान ९ बजेदेखि ९:३० सम्म पार्टीका कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने र छलफल गर्ने तालिका रहेको छ।
त्यसपछि बिहान १० बजेबाट १०:४५ सम्म पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा छलफल हुनेछ। लगत्तै १०:४५ देखि ११:४५ सम्म पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित ‘विधान संशोधन प्रस्ताव’ प्रस्तुत गर्ने र त्यसलाई अनुमोदन गर्ने महत्त्वपूर्ण कार्यसूची रहेको छ।
विधान संशोधन प्रस्ताव अनुमोदन भएपछि बिहान ११:४५ देखि दिउँसो १२:१५ सम्म पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको ‘अर्थ-राजनीतिक प्रस्तावना’ पेश गर्नेछन्। लगत्तै १२:१५ देखि १:१५ सम्म पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। दिउँसो १:१५ देखि १:२५ सम्मको समयमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने र महाधिवेशन आयोजक समितिको तर्फबाट सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।
नेतृत्व र जिम्मेवारी हस्तान्तरणको प्रक्रिया सकिएपछि दिउँसो १:२५ बजेदेखि खानाको समय तोकिएको छ। खानापछि पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी आवश्यक जानकारी र तालिका प्रकाशन गर्नेछ। त्यसपछिका बाँकी सम्पूर्ण कार्यक्रमहरू निर्वाचन आयोगले प्रकाशन गरेको सूचना र तालिकाअनुसार निरन्तर अघि बढ्ने रास्वपाले जनाएको छ।


