राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका क्रममा अस्वस्थ गतिविधि नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
मंगलबार चितवनमा महाधिवेशनको बन्दसत्रको उद्घाटन गर्दै सभापति लामिछानेले पार्टीको आन्तरिक निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै कुनै गुट, उपगुट तथा प्यानल बनाएर प्रतिष्पर्धामा नउत्रन निर्देशन दिनुभएको हो । पार्टीभित्र गुट, उपगुट हावी भए त्यसबाट आउने परिणाम पनि त्यस्तै हुने उहाले बताउनुभयो । पार्टीले कसैलाई पनि उम्मेदवारी दिनबाट बञ्चित नगरेको उल्लेख गर्दै सभापति लामिछानले पार्टीको केन्द्रीय समितिमा पुग्ने नेतृत्व छनोट गर्दा विवेक प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।महाधिवेशनअगावै पार्टीले झण्डै दुई तिहाइको सरकार प्राप्त गरेको भन्दै सभापति लामिछानेले अव महिमागान गाएर नभइ परिणाममा जोड दिनुपर्ने बताउनुभयो । साथै उहाले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको उहाले बताउनुभयो ।
यसैबीच रास्वपाको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ ।
महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै …एपÚबाट मतदान गर्ने व्यवस्था गरिँदैछ । एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी निर्वाचन प्रमुख केसीले दिनुभयो ।

