२०८३ असार १०, बुधबार ०७:१८

कांग्रेसमा अवसर नपाएको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव का जेठा ज्वाइँ दीपक यादव नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

रौतहटको गरुडा नगरपालिका निवासी ३६ वर्षीय यादवले चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनस्थल पुगेर पार्टी सदस्यता लिएको बुझिएको छ । उनले सामाजिक सञ्जालमार्फत आफ्नो सदस्यता सार्वजनिक गर्दै रास्वपामा आबद्ध भएको जानकारी दिएका छन् ।

लामो समयदेखि नेपाली कांग्रेससँग आबद्ध रहेका यादवले पार्टीभित्रको आन्तरिक गुटबन्दी, नेतृत्व तहबाट अवसर नपाएको अनुभूति तथा राजनीतिक रूपमा अगाडि बढ्न अनुकूल वातावरण नबनेका कारण कांग्रेस छाड्ने निर्णय गरेको बताएका छन् ।

यादवको परिवार कांग्रेस राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएको छ । उनका हजुरबुबा हृदयनारायण यादवले रौतहट क्षेत्र नम्बर ३ बाट पटक–पटक निर्वाचन प्रतिस्पर्धा गरेका थिए भने उनका बुवा रामनारायण यादवले २०७४ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए । यद्यपि उनी निर्वाचित हुन सकेका थिएनन् ।

दीपक यादव स्वयं पनि यसअघि निर्वाचन राजनीतिमा सक्रिय रहिसकेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले तत्कालीन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट गरुडा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए । मुख्यमन्त्री परिवारसँग प्रत्यक्ष नाता जोडिएका एक युवा राजनीतिक व्यक्तित्वको रास्वपामा प्रवेशलाई मधेशको राजनीतिमा चासोका साथ हेरिएको छ ।

Comment


Related News

Latest News

Trending News