राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीको वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले राख्नुभएको थियो ।
२०७९ सालको असार ७ गते घोषणा गरेको रास्वपाका संस्थापक सभापति लामिछाने चितवनमा चलिरहेको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित बन्नुभएको हो । अस्ति सोमबारका लागि तय भएको बन्द सत्र प्रतिनिधि छनोटमा देखिएको विवादका कारण ढिला भएर हिजो दिउँसो सवा ३ बजेमात्र बन्दसत्र सुरु भएको थियो ।
बन्दसत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीले लेखा प्रतिवेदन र रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेस गर्नुभयो ।
यसैबीच चुनावबाट आउने ९९ केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि सुरु भएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताका लागि २१ हजार शुल्क तोकिएको छ । केन्द्रीय सदस्यको उम्मेदवारले १ प्रस्तावक र २१ समर्थकको विवरण पनि पार्टीको निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यविधि छ । आयोगले आज बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको जनाएको छ ।

