राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेदवारको नामावली सार्वजनिक भएको छ । ९९ जना केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली सार्वजनिक भएको हो ।
रास्वपा चितवनका नेता नेत्र लामिछानेका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको चुनावमा ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट ५ जना निर्वाचित हुनेछन् ।
७ प्रदेशबाट ३५ जना निर्वाचित हुनेछन् भने ६४ जना खुलाका लागि २१० जनाको उम्मेदवारी परेको हो । लामिछानेका अनुसार सुदूरपश्चिममा १८, मधेशमा २०, लुम्बिनीमा ३१, कोशीमा २०, कर्णालीमा ३१, बागमतीमा २७ र गण्डकीमा २७ जनाको उम्मेदवारी परेको छ ।
नामावली सार्वजनिकसँगै दाबी विरोधका लागि समय दिइएको छ । यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ ।
अन्तिम नामावली विद्युतीय मतदान मेशिनमा प्रविष्ट गरेपछि आज राति नै मतदान गर्ने तयारी छ ।
पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ । आजै राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको चुनाव सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको चुनाव गर्ने तयारी छ ।
दोस्रो चरणमा १ उपसभापति, २ महामन्त्री र ३ सहमहामन्त्री गरी ६ जनाको चुनाव हुनेछ ।

