सशस्त्र प्रहरी बल, नेपालले मुलुकभर विपद् व्यवस्थापन र प्रतिकार्यलाई प्रभावकारी बनाउन १ लाख ६८ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरेको जानकारी दिएको छ।
बिहीवार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रिय प्रवक्ता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले संगठनको विपद व्यवस्थापन रणनीति र हालसम्मका प्रयासबारे जानकारी गराए।
प्रवक्ता कार्कीकाअनुसार सूचीकृत भएका ती स्वयंसेवकहरूले विपद्का सूचना संकलन र प्रतिकार्य योजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
प्रधान कार्यालय र जिल्लास्थित कार्यालयहरूले नियमित रूपमा ‘र्याण्डम स्याम्पलिङ’ मार्फत स्वयंसेवकहरूसँग सम्पर्क समन्वय गरिरहेको उनले बताए।
स्वयंसेवकहरूबाट प्राप्त सूचनाकै आधारमा सशस्त्र प्रहरीले आफ्नो योजना र प्रतिकार्यलाई थप प्रभावकारी बनाएको संगठनको दावी छ।
तराई क्षेत्रमा हुने डुबान र बाढीको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले अस्थायी तथा स्थायी प्रकृतिका विपद प्रतिकार्य बेसहरू स्थापना गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय विपद् कार्य सञ्चालन केन्द्र लगायतका निकायहरूसँग सशस्त्र प्रहरीका कर्मचारीहरूले २४ सै घण्टा समन्वय गरिरहेको प्रवक्ता कार्कीले जानकारी दिए।
विपद्को समयमा समुदाय नै पहिलो ‘रेस्पोन्डर’ हुने भएकाले सामुदायिक सचेतना र तयारीमा जोड दिइएको उनको भनाइ छ।
जलजन्य प्रकोपका तुलनामा आगलागी नियन्त्रणका विषयमा कम चर्चा हुने गरेको जनगुनासोलाई सम्बोधन गर्दै उनले प्राप्त सुझावका आधारमा आगामी तयारीलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे।

