मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–६ निवासी जितेन्द्र मिश्र रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक एवं निमित्त प्रवक्ता मनोज यादवका अनुसार मिश्रलाई बिहीबार दिउँसो सीसीटीभी फुटेजका आधारमा मधेश भवन परिसरबाटै पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनी स्कारपियो गाडी चढेर पुनः मधेश भवन पुगेका बेला नियन्त्रणमा लिइएका हुन् । बुधबार बिहान करिब ११ बजे अर्थमन्त्री भट्टराई प्रयोग गर्ने ज १ झ ४४१ नम्बरको सरकारी गाडी मन्त्रालय अगाडि पार्किङमा राखिएको बेला गाडीमा जडान गरिएको राष्ट्रिय झण्डा भाँचेर फालेका थिए । सीसीटीभी फुटेजमा स्कारपियोबाट ओर्लिएका एक व्यक्तिले गाडी वरिपरि निरीक्षण गरेपछि राष्ट्रिय झण्डा भाँचेर भुइँमा फालेको तथा मोबाइल फोनमा कुरा गर्दै मन्त्रालय परिसरभित्र प्रवेश गरेको देखिएको प्रहरीले जनाएको छ ।
ती व्यक्ति करिब चारदेखि पाँच मिनेटसम्म परिसरमा रहेको फुटेजमा देखिएको छ । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल को टोली घटनास्थलमा पुगेर मधेश भवनमा करिब तीनदेखि चार घण्टासम्म अनुसन्धान गरेको थियो । पछि पुनः उनी सोही स्कारपियोमा चढेर मन्त्रालय पुग्लो प्रहरीले पक्राउ गरेका थिए । उनले कति कारणले गाडीमा तोडफोड गरेको बारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

