राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनमा भैरहेको महाधिवेशनमा उपसभापति पदका लागि वाग्लेको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएका हुन् ।
नेता विराजभक्त श्रेष्ठले उपसभापतिमा आफ्नो दावी छाडेर वाग्लेलाई सघाउनुभएको हो । अर्को महिला उपसभापति पदमा भने चुनाव हुने भएको छ । एक पदका लागि इन्दिरा रानामगर, सोविता गौतम, समीक्षा बाँस्कोटा, लिमा अधिकारी र डा. तोसिमा कार्कीले दावी गरेका छन् ।
केन्द्रीय सदस्यको नतिजा राति सार्वजनिक भए पनि पदाधिकारीको लागि अझै उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी छ । दोस्रो चरणको चुनावी कार्यक्रम अन्तर्गत बिहान १ बजे उम्मेदवारको प्रारम्भिक सूची गर्ने कार्यतालिका भए पनि ढिलाइ भएको छ ।
प्रारम्भिक सूची सार्वजनिकपछि त्यसमा दाबी विरोध र अन्तिम सूची निकालेपछि विद्युतीय मेसिनमा नाम इन्ट्री गराएपछि मतदान शुरू हुनेछ । उपसभापतिमा वाग्लेको मात्रै उम्मेदवारी परेपछि अब एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सहमहामन्त्री (खुला) र एक महिला सहमहामन्त्रीमा चुनाव हुनेछ ।
महामन्त्री पदका लागि शिशिर खनालले दावी फिर्ता लिनुभएको छ भने मनीष झा, विपिन आचार्य, कबिन्द्र बुर्लाकोटी, रन्जु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद न्यौपानेले आकांक्षा देखाएका छन् । सहमतिको प्रयास भैरहेकाले पनि चुनावी प्रक्रियामा ढिलाइ भएको हो ।

