नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालसंग सहकार्य गर्ने संकेत गरेका छन् । शुक्रबार विराटनगरमा आयोजित पार्टीको कोशी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक प्रचण्डले एमालेसंग तत्काल कार्यएकता हुने र जसपासंग सहकार्य हुन सक्ने बताए ।
जसपा नेपालसंग पनि सहकार्यका लागि छलफल भइरहेको भन्दै संयोजक प्रचण्डले अहिले नै चाहिँ एमाले र नेकपाबीच सहकार्य हुने सम्भावना बढेको बताए । संयोजक प्रचण्डले उक्त कुरा बोल्नुभन्दा केही दिनअघि ओली र प्रचण्डबीच लामो छलफल चलेको थियो । ओली र प्रचण्ड धेरै समयपछि अर्को एक कार्यक्रममा एउटै मञ्चमा देखिन पनि लागेका छन् । अझ त्यसमा माधव नेपाल र झलनाथ खनाल पनि सहभागी हुने भएका छन् । ओली र प्रचण्ड तत्काल कार्यगत एकता गरेर सहकार्य बढाउने र चुनावअघि पार्टी एकता गर्ने मोडालिटीमा छलफल चलाइरहेका छन् ।
उनीहरूको छलफलले मूर्त रूप भने लिइसकेको छैन । तथापि उनीहरू कार्यगत एकतामा सहमत भएको संकेतचाहिँ देखिन थालेका छन् । त्यस्तै अर्को प्रसंगमा संयोजक प्रचण्डले नेपाली सेना, राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) र विदेशी शक्तिको भूमिकाप्रति गम्भीर आशंका व्यक्त गरे । उनले नेपालको शान्ति प्रक्रिया, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि बाह्य शक्तिको हस्तक्षेप बढेको दाबी गरे । उनले १२ बुँदे समझदारीको क्रममा अमेरिकाले उक्त सहमति रोक्न प्रयास गरेको आरोपसमेत लगाए । प्रचण्डले नेपाली सेनाको संवेदनशीलता तथा केही अन्तर्र ाष्ट्रिय संस्थाको नेपालभित्रको गतिविधिमाथि पनि प्रश्न उठाए ।
उनका अनुसार यस्ता गतिविधि रणनीतिक उद्देश्यका साथ सञ्चालन भइरहेको हुन सक्छन् । रास्वपामाथि प्रहार गर्दै उनले उक्त पार्टी कुनै जनआन्दोलनबाट नभइ विदेशी शक्तिको प्रभावमा निर्माण भएको आरोप लगाए । उनले बारबरा फाउन्डेसन, टिओबी र अमेरिकन यूथ काउन्सिलजस्ता संस्थाले नेपालमा प्रभाव विस्तार गर्न भूमिका खेलेको दाबी गरे । तथापि, यी आरोपहरूको स्वतन्त्र पुष्टि भएको छैन । प्रचण्डले फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाममाथि पनि प्रश्न उठाए ।
केही स्थानमा मतपेटिका साटिएको वा निर्वाचन प्रक्रियामा अन्य प्रकारको हेरफेर भएको हुन सक्ने आशंका व्यक्त गरे । तर, उनले त्यससम्बन्धी कुनै ठोस प्रमाण सार्वजनिक गरेनन् । उनले प्रतिगामी शक्तिले संविधान, संघीयता र समावेशी व्यवस्थामाथि प्रहार गर्न खोजेको आरोप लगाउँदै राष्ट्रपति रामचन्द्र पौडेलमाथि पनि दबाब सिर्जना भइरहेको भन्ने सूचना आफूले पाएको बताए । यसअघि नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले संसदमा नेपाली सेनाप्रति आक्रोश पोखेका थिए ।
नेता थापाकै शैलीमा प्रचण्डले पनि नेपाली सेनाको संवेदनशीलता, टिओबी, बारबरा फाउन्डेसन र अमेरिकन यूथ काउन्सिल जस्ता संस्थाहरूको नेपालभित्रको अस्वाभाविक सक्रियता रणनीतिक भएको भन्दै त्यसको काउन्टर गर्नुपर्ने बताए । प्रचण्डले गम्भीर र भू–राजनीतिक हस्तक्षेप हुने गरेको विषय कोट्याउँदै दिल्लीमा भएको १२ बुँदे सहमतिको विषयमा अमेरिकाले भिटो प्रयोग गर्न खोजे पनि नसकेको बताए । ‘हामी जब ऐतिहासिक १२ बुँदे समझदारीको मस्यौदा तयार पार्न दिल्लीमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र हामी सबै लागिरहेका थियौँ, तत्कालीन समयमा संसारको एउटा ‘सुपर पावर’ भन्दै अमेरिकातर्फ संकेत गर्दै उच्च प्रतिनिधिहरू विशेष विमान चार्टर गरेर दिल्ली ओर्लिएका थिए । यसैबीच, प्रचण्डले वामपन्थी शक्तिबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै एमालेसंग संसद् र सडक दुवै मोर्चामा कार्यगत सहकार्य हुन सक्ने बताए ।
उनले महाधिवेशनमार्फत सक्षम युवा नेतृत्वलाई अवसर दिने प्रतिबद्धतासमेत व्यक्त गरे । पछिल्ला दिनमा एमाले र नेकपाबीच कार्यगत सहकार्यको सम्भावनाबारे छलफल अघि बढेको छ । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच केही साताअघि भेटवार्ता भएको थियो । प्रचण्डले विराटनगरमै एमालेसंग सहकार्यको सम्भावना रहेको संकेत दिएका छन् । आगामी असार १४ गते मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र उपेन्द्र यादव एउटै मञ्चमा सहभागी हुने कार्यक्रम छ ।
एमालेभित्र विद्या भण्डारीको सदस्यता नवीकरणपछि पार्टीभित्रको समीकरणमा परिवर्तन आएको छ । राजनीतिक वृत्तमा १४ असारको कार्यक्रमलाई वाम सहकार्यका दृष्टिले महत्वपूर्ण सन्देश दिने कार्यक्रमका रूपमा हेरिएको छ । यद्यपि, एमाले–नेकपा एकता वा औपचारिक सहकार्यबारे दुबै दलले हालसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेका छैनन् ।

