२०८३ असार १३, शनिबार ०८:०४

मध्य धनुषाको एउटा पालिका हो– विदेह नगरपालिका । यस पालिकाको वडा नम्बर– ३ मा एउटा सानो गाउँ छ– चिकना । १५७ घरधूरी भएको यस सानो गाउँमा तत्मा (दास), चमार (महरा), दुसाध (पासमान) लगायतका दलितहरुको बाहुल्यता छ । तर गजब के छ भने, दलित तथा निम्न आयवर्गका मानिसहरुको बसोबास रहेको यस गाउँका एउटै पनि बालबालिका विद्यालय बाहिर छैनन् ।

सबै नियमित विद्यालय जान्छन् । पछिल्ला तीन वर्षदेखि गाउँमा एउटै पनि बालविवाह भएको छैन । यस गाउँलाई ‘बालविवाह मुक्त गाउँ घोषणा गरिएको छ ।’ एउटै पनि बालबालिका विद्यालय बाहिर नरहेको भन्दै गाउँको प्रशंसा हुनु स्वाभाविक हो । दलित र गरिब परिवारको बाहुल्यता रहेको यस गाउँलाई बालविवाह मुक्त बनाउन र सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराउन यहाँका महिला समूहहरुले अहम् भूमिका निर्वाह गरेका छन् र यी महिलाहरुलाई एकीकृत गर्न, जागरुक बनाउन तथा आयमूलक कार्यक्रमसंग जोड्ने काम गरेको छ– गैरसरकारी संस्थाले ।

‘चार वर्षअघि यस गाउँका झण्डै आधा बालवालिका विद्यालय बाहिर थिए । विद्यालयमा नामांकन गराएकाहरु पनि हाजिर गरेर टाप कस्थे । अभिभावकहरु सचेत भएपछि अचेल विद्यार्थी संख्या बढेको आधार भूत विद्यालय चिकनाका प्रधानाध्यापक सत्यनारायण पञ्जियारको प्रतिक्रिया थियो । भारतीय सीमासंग जोडिएको यस सानो गाउँको मुख्य पेशा कृषि हो । केहि युवा वैदेशिक रोजगारीमा पनि गएका छन् । गाउँको परिवर्तनको कथा सुनाउँदै ४० वर्षिया ललिता देवी दासले भनिन्– ‘सामूहिक सहकार्य तथा नियमितको प्रयासबाट गाउँलाई बालविवाह मुक्त बनाउन सकिएको हो । सबै बालबालिकालाई विद्यालयभित्र पठाउन सकिएको हो ।’

बालबालिका विद्यालय भर्ना नहुनु, भर्ना भए पनि बीचमै पढाइ छाड्नु (ड्रप आउट), विद्यालय बीचमै छाड्नेमा छात्राहरुको संख्या अधिक हुनु धनुषा वा मधेश प्रदेशमात्रको समस्या होइन, यो सिंगै नेपालको समस्या हो । नेपालका ७ प्रदेशमध्ये बागमती, गण्डकी, कोशी, सुदूर पश्चिम र लुम्बिनी गरी ५ प्रदेश पूर्ण साक्षर घोषणा भइसकेका हुन् । मधेश र कर्णाली पूर्ण साक्षर बन्न जोडबल गर्दै छ । कर्णाली जस्तो बिकट प्रदेशमा रहेका १० जिल्लामध्ये ५ पूर्ण साक्षर घोषणा भइसकेका छन भन्ने मधेश जस्तो भौगोलिक रुपले सुगम प्रदेशका ८ मध्ये एउटै जिल्ला पूर्ण साक्षर बन्न सकेको छैन । मधेश प्रदेशको साक्षरता दर ६३.५’ मात्र छ, जुन नेपालका सात वटै प्रदेशहरूमध्ये सबैभन्दा कम हो । मधेशका करिब २७’ जनसंख्या अझै निरक्षर छन् ।

आफ्नो नाम र थर लेख्न र पढ्न सक्ने, नेपाली भाषाका देवनागरी वर्णमाला वा अन्य मातृभाषाका लिपिहरू पहिचान गर्न र लेख्न सक्ने, सरल शब्द, वाक्य तथा सन्देशहरू पढेर त्यसको अर्थ बुझ्न सक्ने, ० देखि ९ सम्मका अंक र सामान्य जोड, घटाउ, गुणन तथा भाग गर्न सक्ने, पात्रो (मिति), घडी, मोबाइलको अंक र अक्षर हेर्न जान्ने र दैनिक जीवनमा प्रयोग हुने मूल्य, नोट तथा सिक्काको हिसाब गर्न सक्नेलाई साक्षर भनिएको छ । पढाइबीचमा छाड्नु अर्थात् ड्रप आउट नेपालको ठूलो समस्या हो । नेपालमा विद्यालय तहको भर्नादर ९५ प्रतिशतभन्दा बढी भए पनि कक्षा बढ्दै जाँदा बीचैमा पढाइ छाड्ने (ड्रपआउट) दर भने बिकराल छ ।

तथ्यांक अनुसार कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये आधाभन्दा बढी -करिब ६० देखि ६५ प्रतिशत) विद्यार्थीले १२ कक्षासम्म पुग्दा बीचमै विद्यालय छाड्ने गर्छन् । सरकारी तथ्यांक अनुसार कक्षा ८ पुग्दा करिब १५ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१०) को अन्त्यसम्म आइपुग्दा करिब ३० देखि ३५ प्रतिशत विद्यार्थी हराउँछन् ।

कक्षा १२ सम्मपुग्दा यो संख्या अझै बढेर ६६ प्रतिशतसम्म पुग्ने गरेको विभिन्न सरकारी सर्वेक्षणहरूले देखाएका छन् । राष्ट्रिय तथ्यांक अनुसार, नेपालमा झण्डै ४२ प्रतिशत बालिका र किशोरीहरु (२० वर्षमुनिका) को बालविवाह हुने गरेको छ । विद्यालय भर्ना, ड्रप आउट, बालविवाह जस्ता नकारात्मक अभ्यासहरुलाई निरुत्साहित गर्न तीनै तहका सरकार आ–आफ्नो तर्फबाट अनेकौँ योजना ल्याएका छन् । वर्षेणी करोडौँको बजेट पनि खन्याउने गरेको छ तर समस्या जसका तस छन् ।

अब प्रश्न उठ्छ– सरकारी संयन्त्रले गर्न नसकेको शतप्रतिशत विद्यालय भर्ना तथा बालविवाहमुक्त अभियान विदेह नगरपालिका– ३ चिकना गाउँकी दलित, अशिक्षित तथा न्यून आय वर्गकी महिलाहरुको प्रयासमा कसरी सफल भयो ? यस अभियानलाई सफल बनाउन गाउँकी महिलाहरुले के के उपक्रम गरिन्? मैले यस विषयमा गाउँकी महिलाहरुसंग खुलेर कुरा गरेको थिएँ । उनीहरुले दिएको जानकारी अनुसार, शिक्षा र बालविवाह जस्ता नकारात्मक अभ्यासहरुका मुख्य कारण हो– जनचेतनाको अभाव ।

गरिबी तथा सामूहिक प्रयासको आभाव । गैरसरकारी संस्थाको सहकार्यमा चिकना गाउँकी महिलाहरु विभिन्न समूहसंग आवद्ध भएकी छन् । समूहमा लगानी तथा समूहबाटै ऋण लिएर सानातिना व्यावसाय वा आधुनिक खेती गरेर थोर बहुत आय आर्जन गर्न थालेकी छन् । अनि सामूहिक निर्णयद्वारा गाउँका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराएकी छन् ।

बालविवाहमुक्त बनाएकी छन् । ‘अभिभावक नै विद्यालयभर्ना गराउन चाहेमा बालबालिका विद्यालयन जाने कुरै भएन । अनि अभिभावक नै बालविवाह गराउन नचाहेमा बालविवाह हुने कुरै भएन ।’ ललिता दासको प्रतिक्रिया थियो । ललिता दासकी अनुसार, बालबालिकालाई विद्यालय भर्ना गराइसकेपछि विद्यालयको भौतिक संरचना, शौचालय, खेल मैदान, गुणस्तरीय शिक्षण अभ्यास पनि जरुरी छ । यसका लागि गैरसरकारी संस्थालगायतकाहरुले तीनै तहका सरकारको ध्यान जानु आवश्यक छ ।

Comment


Related News

Latest News

Trending News