रौतहट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडी बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ। साथै, विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जनालाई पनि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार भारतीय नम्बर डब्लु बी ०२ डब्लु १५८७ ९ध्द्य ण्द्द ध् ज्ञछडठ० भएको स्कोर्पियो गत जेठ ३१ गते साँझ मौलापुरस्थित आईटी चोक नजिक सडक छेउमा बेवारिसे अवस्थामा फेला परेको थियो। प्रहरी टोलीले गाडीबारे आवश्यक सोधपुछ गरे पनि कसैले स्वामित्व दाबी नगरेपछि नियन्त्रणमा लिइएको थियो।
प्रहरीले करिब २० लाख रुपैयाँ मूल्यांकन गरिएको उक्त स्कोर्पियो शुक्रबार आवश्यक कानुनी कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जनाएको छ। गाडी फेला परेको मितिदेखि शुक्रबारसम्म पनि कसैले दाबी नगरेकाले भन्सारमा पठाइएको प्रहरीको भनाइ छ।
यसैबीच, फैसला कार्यान्वयन अभियानअन्तर्गत प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय र जरिबाना तोकिएपछि फरार रहेका ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चेक अनादर मुद्दाका माधवनारायण नगरपालिका–५ का दुर्गा सहनी, चन्द्रपुर–१० का राकेश साह र विनोद अर्याल रहेका छन्। यस्तै, कुटपिट मुद्दाका राजपुर–१ का रामचन्द्र यादव र रामशंकर यादव तथा जालसाजी मुद्दाका राजदेवी–८ का सुखाडी यादव पक्राउ परेका छन्।
उनीहरूबाट अदालतले तोकेको ३ लाख ४० हजार रुपैयाँ जरिबाना असुल गरी फैसला कार्यान्वयनका लागि शुक्रबार जिल्ला अदालत गौरमा उपस्थित गराइएको डीएसपी गौतमले जानकारी दिएका छन्।

